काठमाडौं-हेटौँडा सडक ‘वान वे’ बनाइयो, अब आउँदा र जाँदा फरक फरक रुट

काठमाडौं । अब काठमाडौंबाट-हेटौँडा आवतजावत गर्दा फरक फरक सडक प्रयोग गर्नुपर्ने भएको छ ।

हेटौँडा-काठमाडौँ सडकमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर आजदेखि वान वे रुट लागू गरेको हो ।

प्रशासनका अनुसार आजदेखि १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौँडाबाट काठमाडौं आउँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै आउनुपर्नेछ । त्यस्ते, ती सवारी काठमाडौंबाट हेटौँडा जाँदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

त्रिशूलीको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक कटान गरेपछि आइतबारदेखि बन्द छ । उक्त सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको छ ।

नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।


Back_to_top