काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बगाएका ३१३ सवारी सानधको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै ३१३ सवारीको बीमा दाबी गरिएको हो ।
अकस्मात आएको बाढीले रसुवागढी भन्सार कार्यालय, यार्ड र सडक क्षेत्रमा राखिएका सयौं सवारी बगाएको थियो । एकीन तथ्यांक आइनसके पनि व्यवसायीले बिक्रीका लागि ल्याएका र मालवाहक कन्टेनर गरी ८०० बढी सवारी बगाएको आकलन छ ।
सवारीको विवरण संकलन भइरहेकाले बीमा दाबी पर्ने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । हालसम्म बाढीले समग्रमा २५ अर्ब ८७ करोड रुपैयाँको क्षति पुर्याएको भन्दै १३ इन्स्यारेन्स कम्पनीमा बीमा दाबी परेको छ।
प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम शीर्षकमा २० अर्ब ५० करोड बराबरको ५२ वटा बीमा दाबी परेको छ । बाढीले आधादर्जन बढी हाइड्रोपावर, सडक, पुल लगायत आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
त्यस्तै, २ अर्ब ३४ करोड रुपैयाँ बराकरको ११३ वटा सम्पत्ती बीमा, ८९ करोड ७७ लाख रुपैयाँ बराबरको ४७ वटा परिवहन बीमा, ४ करोड १६ लाख रुपैयाँ बराबरको ४ वटा स्वास्थ्य र ५२ करोड रुपैयाँ बराबरको ५४ वटा अन्य बीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।


