काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षति पुर्याएका १ हजार बढी सवारी साधनको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार (असोज १२ गतेसम्म) कुल १०६६ सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ७ करोड ९३ लाख ८८ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
अकस्मात आएको बाढीले रसुवागढी भन्सार कार्यालय, यार्ड र सडक क्षेत्रमा राखिएका सयौं सवारी बगाएको थियो । हालसम्म बाढीले क्षति पुर्याएको सवारी साधनको एकीन तथ्यांक आइसकेको छैन ।
प्रारम्भिक आकलन अनुसार व्यवसायीले बिक्रीका लागि ल्याएका करिब ५०० बढी विद्युतीय कार बगाएको बताइएको छ । त्यस्तै, नेपाल ट्रक यातायात व्यवसायी महासंघ मातहतका ३३८ ट्रकरकन्टेनर र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत १९१ सवारी साधनमा क्षति पुगेको तथ्यांक छ । यी बाहेक सयौं संख्या मोटरसाइकल, स्कुटर र निजी कार समेत बगाएको थियो ।
क्षति पुगेका सवारीको पूर्ण तथ्यांक आइनसकाले बीमा दाबी पर्ने क्रम अझै रहेको प्राधिकरणले जनाएको छ । ठूलो संख्यामा बीमा दाबी परे पनि दाबी भुक्तानी भने निकै कम रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार हालसम्म ३ अर्ब ७ करोड बढीको दाबी पर्दा बीमा कम्पनीहरूले जम्मा २४ लाख १० हजार रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।
परेका दाबीको क्षतिको मूल्यांकन भइरहेकाले न्यून भुक्तानी भएको बीमा कम्पनीहरू बताउँछन् । अहिले सर्भेयरहरूले धमाधम मूल्यांकनको काम गरिरहेका छन् । क्षतिको मूल्यांकन सकी सर्भेयरहरूले प्रतिवेदन बुझाएपछि दाबी भुक्तानी पनि बढ्ने कम्पनीहरूको भनाइ छ ।
बीमा दाबी भुक्तानी मार्ग दर्शन २०८१ अनुसार दाबी परेपछि कम्पनीले क्षति मूल्यांकनका लागि सर्भेयर नियुक्त गर्नुपर्छ । उक्त सर्भेयरले साधारणतया १५ देखि २१ दिनभित्र प्रतिवेदन बुझाइ सक्नुपर्छ । सर्भेयरको प्रतिवेदन प्राप्त भएको २१ दिनभित्र बीमकले भुक्तानी गरिसक्नु पर्ने व्यवस्था छ ।
हालसम्म भोटेकोशी बाढीले पुर्याएको क्षतिबाट २० अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेक्का जोखिम शीर्षकमा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको १६५ वटा बीमा दाबी परेको छ । बाढीले आधादर्जन बढी हाइड्रोपावर, सडक, पुल लगायत आयोजनामा ठूलो क्षति पुर्याएको छ ।
त्यस्तै, ९ अर्ब ४१ करोड रुपैयाँ बराकरको ५१८ वटा सम्पत्ती बीमा, २ अर्ब ४८ करोड रुपैयाँ बराबरको १०४ वटा परिवहन बीमा, २२ करोड २२ लाख रुपैयाँ बराबरको २२ वटा स्वास्थ्य र १ अर्ब ३६ करोड रुपैयाँ बराबरको २९९ वटा अन्य बीमा दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
हालसम्म समग्रमा कुल ६७ लाख ४८ हजार भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ ।

