काठमाडौं । आधुनिक ‘कनेक्टेड कार’ले सवारीधनीको ब्यक्तिगत डेटा विभिन्न कम्पनी तथा तेस्रो पक्षलाई पठाउने गरेको एक अध्ययनले देखाएको छ । अध्ययनमा परीक्षणमा सामेल गरिएका अधिकांश कनेक्टेड कारले डेटा सप्लाई गर्ने जनाएको हो ।
विज्ञापन, ट्रयाकिङ तथा विश्लेषणसँग सम्बन्धित तेस्रो पक्षका कम्पनीसँग इन्टरनेटमार्फत सम्पर्क गर्ने गरेको पाइएको छ । नर्थइस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताले कन्ज्युमर रिपोट्र्ससँगको सहकार्यमा २१ वटा विभिन्न ब्राण्डका २१ वटा कनेक्टेड कार र त्योसँग सम्बन्धित ३० वटा मोबाइल एपको अध्ययन गरेका थिए ।
अक्टोबर २०२४ देखि अगस्ट २०२५ सम्म गरिएको अनुसन्धानमा कारको वाइफाइ र मोबाइल नेटवर्कबाट हुने डेटा आदानप्रदान स्क्यान गर्नुका साथै इन्फोटेनमेन्ट प्रणालीको परीक्षण गरेका थिए ।
अनुसन्धानकर्ताहरूले कारलाई बाह्य संचारबाट अलग राखेर परीक्षण गर्न विशेष ‘फ्याराडे टेन्ट’ समेत प्रयोग गरेका थिए ।
२१ मध्ये १९ कारले तेस्रो पक्षसँग सम्पर्क गरे
परीक्षणमा सहभागी २१ मोडलमध्ये १९ वटाले इन्टरनेटमार्फत कम्तीमा एउटा तेस्रो पक्षसँग सम्पर्क गरेको अनुसन्धानमा देखिएको छ ।
त्यसमध्ये आधाभन्दा बढीले विज्ञापन, ट्रयाकिङ वा विश्लेषणसँग सम्बन्धित जोडिएका डोमेनमा सम्पर्क गरेका थिए । यस्ता डोमेनमा अल्फाबेट, अमेजन, म्यापबक्स, मेटालगायतका कम्पनीसँग सम्बन्धित सेवा समावेश थिए ।
कार निर्माता कम्पनीका ३० वटा मोबाइल एपमध्ये ७ वटा एपले पनि तेस्रो पक्षलाई संवेदनशील पहिचान सम्बन्धी डेटा पठाएको भेटियो । यसमा सवारीसाधनको भेहिकल आइडेन्टिफिकेसन नम्बर (भिन नम्बर), प्रयोगकर्ताको इमेल र फोन नम्बर तथा सवारीसाधन रहेको स्थानको जानकारी पठाएको थियो ।
टेस्लाबाट सबैभन्दा धेरै डेटा सम्पर्क
अमेरिकामा गरिएको अध्ययनमा चिनियाँ कारहरू समावेस थिएनन् । त्यस अध्ययनमा टेस्लाको इलेक्ट्रीक मोडल ३ ले ३४ वटा फरक डोमेनसँग सम्पर्क गरेको पाइयो । उसको साइबरट्रकले पनि २३ वटा त्यस्तै किसिमका डोमेनमा सम्पर्क बनाएको थियो ।
यसपछि धेरै सम्पर्क गर्ने कारमा क्याडिल्याक लिरिकले १० वटा, लुसिडले ९ वटा र चेभी ब्लेजरले ७ वटा डोमेनमा सम्पर्क गरेको अनुसन्धानमा देखिएको छ ।
यसको विपरीत, निसान आरिया, ल्याण्ड रोभर÷रेन्ज रोभर, मर्सिडिज–बेन्ज र ब्यूक एनभिस्टाले कुनै पनि डोमेनमा सम्पर्क नगरेको अध्ययनले देखाएको छ ।
अनुसन्धानपछि अनुसन्धानकर्ताको टीमले १८ वटा अटो निर्माता कम्पनीमध्ये १७ वटालाई आफ्नो निष्कर्षबारे जानकारी गराएका थिए । तीमध्ये १४ कम्पनीले प्रतिक्रिया दिएको रिपोर्टमा उल्लेख छ ।
अनुसन्धानकर्ताले धेरै कनेक्टेड कार फिचर भएका टेस्ला र रिभियनजस्ता कम्पनीको अर्को अभ्यासमाथि प्रश्न उठाएका छन् ।
यी कम्पनीहरूले टेलिमेटिक्स कनेक्टिभिटी र डेटा साझेदारी नगर्दा कारमा उपलब्ध केही सुविधा कमजोर हुनसक्ने चेतावनी दिने गरेको अनुसन्धान रिपोर्टमा उल्लेख छ ।
यसले उपभोक्तालाई आफ्नो व्यक्तिगत डेटा साझेदारी गर्न अस्वीकार गर्ने अधिकार र कारका पूर्ण सुविधा प्रयोग गर्ने अधिकार बीच छनोट गर्नुपर्ने अवस्था सिर्जना गर्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
यो रिपोर्टले आफ्नो निष्कर्षमा लेखेको छ, ‘नयाँ कार खरिद गर्दा ब्याट्री क्षमता, रेन्ज, पावर र प्रविधिगत सुविधासँगै कारले कुन प्रकारको डेटा संकलन गर्छ, कहाँ पठाउँछ, कसरी प्रयोग हुन्छ र त्यसबाट बाहिरिन सकिन्छ कि सकिँदैन भन्ने विषय पनि उपभोक्ताले बुझ्नुपर्ने देखियो ।’

