अपडेट भएर आउँदै पल्सर एनएस १२५, थपिए यी फिचर

काठमाडौं । बजाजले आफ्नो सबैभन्दा सानो क्षमताको पल्सर एनएस १२५ मोटरसाइकलको अपडेट भर्सन सार्वजनिक गर्ने भएको छ । बजाज अटोले भारतमा एनएस १२५ मोडललाई डिस्प्ले अपटेड सहित नयाँ ग्राफिक्समा लन्च गर्ने तयारी थालेको हो ।

नयाँ भेरियन्ट एनएस १२५ औपचारिक रूपमा सार्वजनिक हुनुअघि नै बजाजको डिलरशिपमा देखिएको हो । सार्वजनिक भएका तस्बिर अनुसार नयाँ भेरियन्टलाई बजाजले नयाँ कलरफुल टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल र परिमार्जित स्विचगियर तथा नयाँ ब्ल्याक-रेड ग्राफिक्समा अपडेट गरेको देखिन्छ ।

नयाँ टीएफटी कन्सोल एनएस १२५ को सबैभन्दा ठूलो अपडेट हो । यसमा बीच भागमा ठूलो स्पीड रिडआउट, माथिल्लो भागमा कलर ट्याकोमिटर, गियर पोजिसन इन्डिकेटर तथा विभिन्न राइडिङ इन्फर्मेसन देखिनेछ । नयाँ डिस्प्ले संचालनका लागि बायाँपट्टिको स्विचगियरमा डेडिकेटेड मोड बटन समेत थपिएको देखिन्छ । यो पल्सरको अन्य सिरिजमा थपिएकै टीएफटी कन्सोल हो ।

नयाँ इलेक्ट्रोनिक्स थपिए पनि बजाजले एनएसको मूल डिजाइनलाई यथावत् नै राखेको छ । यसमा उही पुरानै हेडलाइट, मस्कुलर फ्युल ट्यांक, ट्यांक एक्सटेन्सन, साइड प्यानल, स्प्लिट-स्टाइल सिट र अन्डरबेली एग्जस्ट डिजाइन कायम गरिएको छ ।

डिलरशिपमा देखिएको मोटरसाइकलमा ब्ल्याक बेसमा रेड ग्राफिक्स प्रयोग गरिएको छ । ट्यांक श्राउड, तल्लो बडी प्यानल र टेल सेक्सनमा रातो ग्राफिक्स देखिन्छ भने साइड प्यानलमा रातो-सेतो एनएस लोगो दिइएको छ ।

अपडेटेड एनएस १२५ मा मेकानिकल पक्ष भने हालकै जस्तै रहने अनुमान गरिएको छ । हालको मोटरसाइकलमा १२४.४५ सीसी, सिंगल-सिलिण्डर, एयर-कुल्ड, ४-भल्भ इन्जिन छ । यो इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क उत्पादन गर्छ । अन्य सबै फिचरहरु पुरानै यथावत रहने छन् ।

एनएस १२५ बजाजको पछिल्लो पल्सर अपडेट साइकल अन्तर्गत आउने अर्को मोडल हो । कम्पनीले यसअघि नयाँ एन १६०, पल्सर क्लासिक १२५ र १५० सार्वजनिक गरिसकेको छ भने अबको लाइनअपमा एनएस १२५, एनएस २००, एन २५० र एनएस ४०० छन् ।

यी सबै मोटरसाइकल नयाँ टीएफटी डिस्प्लेसहित परीक्षणका क्रममा देखिएका हुन् । यद्यपि, एनएस २०० मा भने डब्लूपीको एपेक्स यूएसडी फोर्क पनि थपिने भएको छ ।


Back_to_top