हुन्डाई इन्डियाले सेम्टेम्बरमा बेच्यो इतिहासकै धेरै कार

काठमाडौं । हुन्डाई मोटर इन्डियाले सन् २०२६ को सेम्टेम्बरमा स्थापनाकालय यताकै सर्वाधिक कार बिक्री गर्दै नयाँ रेकर्ड बनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार सेम्टेम्बर १ महिनामा मात्रै घरेलु र अन्तर्राष्ट्रिय बजारमा गरी कुल ७७ हजार ९१६ युनिट गाडी बिक्री गरेको हो । यो हुन्डाईको मासिक बिक्रीमा हालसम्मकै धेरै हो ।

गत वर्षको सोही अवधिको तुलनामा हुन्डाईको बिक्री १०.७६ प्रतिशतले बढेको हो । कम्पनीले गत वर्ष सेप्टेम्बरमा कुल ७० हजार ३४७ युनिट कार बिक्री गरेको थियो ।

हुन्डाईले गाडी बिक्रीमा गत जुलाईमा पहिलोपटक महिनामा ७५ हजारको युनिटको आँकडा पार गरेको थियो ।

कम्पनीको घरेलु बजार र निर्यात दुवैमा सुधार हुँदा बिक्रीले नयाँ रेकर्ड बनाएको हो । हुन्डाईले सेम्टेम्बरमा भारतमा मात्रै ५७ हजार १६६ युनिट कार बेचेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९० प्रतिशत धेरै हो ।

सेप्टेम्बरमा निर्यात पनि १०.३७ प्रतिशतले बढेर २० हजार ७५० युनिट पुगेको छ । गत वर्ष सेप्टेम्बरमा १८ हजार ८०० युनिट गाडी बेचेको थियो ।

हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।


Back_to_top