काठमाडौं । संघीय राजधानी काठमाडौंबाट हेटौंडा जाने सडकमा टाइम कार्ड लागू गरिएको हो ।
चाडवाडको समयमा चालकले तीव्र गतिमा सवारी कुदाउने भएकाले हेटौंडा-भीमफेदी-कुलेखानी-दक्षिणकाली र कुलेखानी-फर्पिङ सडकमा बुधबार बेलुकादेखि टाइमकार्ड लागू गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चाडवाडको बेलामा सवारी चाप बढ्ने र चालकले धेरै ट्रिप गर्ने उद्देश्यले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले टाइम कार्ड लागू गरिएको हो ।
टाइम कार्ड लागू भएसँगै चालकले अब भैंसे, भीमफेदी, कुलेखानी, फर्पिङ, दक्षिणकालीमा टाइमकार्ड देखाउनुपर्नेछ । तोकिएको टाइम कार्ड अनुसार सवारी नचाएल कारबाही गरिने प्रहरीले जनाएको छ ।
चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरि करिब ७२९ जना प्रहरी परिचालन गरेको छ । यात्रुहरूको सहजताका लागि मकवानपुरका विभिन्न ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षमार्फत बढी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई यात्राका क्रममा पर्न सक्ने समस्याको समाधानमा सहजीकरण गरिने कार्यालयले जनाएको छ ।
राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । त्यस्तै, सवारी दुर्घटना तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ ।

