काठमाडौं । नेपाली बजारमा धेरै बिक्री हुने मिनी कार केई इक्युट ०४ ईभी अब ठूलो मोटर पावर र नयाँ डिजाइनमा आएको छ ।
नेपालका लागि केईको आधिकारिक जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले ५५ किलोवाटको मोटर भएको अल न्यू इक्युट ०४ नेपाल ल्याएका हुन् ।
इक्युट ०४ यसअघि नेपाली बजारमा ४० किलोवाटको मोटरमा उपलब्ध थियो । नयाँ फेसलिफ्ट मोडल पहिलोकोभन्दा अहिले १५ किलोवाट ठूलो मोटरमा आएको हो ।
कम्पनीले ठूलो मोटरमा ल्याए पनि मूल्य भने नबढाउने भएका छन् । हालकै मूल्य २५ लाख ९६ हजार रुपैयाँमा नयाँ इक्युट उपलब्ध हुनेछ ।
इक्युट ०४ मा २८.०८ किलोवाट आवरको ब्याट्री छ । यो ब्याट्रीले एकपटकको फुलचार्जमा ३०१ किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । इक्युट ०४ ले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । जसबाट केबल ३० मिनेटमा यसको ब्याट्री ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

स्टाइलिस लुक, स्मार्ट प्रविधि र उत्कृष्ट सुरक्षाका कारण यो ह्याचब्याक नेपाली बजारमा धेरैको रोजाइमा परिरहेको छ ।यसको डिजानमा पनि व्यापक परिवर्तन भएको छ ।
यसकाे अगाडि पुरानो मोडलमा रहेको इनक्लोज ग्रिलको बदलेर नयाँ फ्रन्ट बम्पर दिइएको छ, जसमा दुवै तर्फ दुईवटा साइड भेन्टहरू थपिएका छन्। यसले गाडीलाई अझ बढी आधुनिक र एयरोडाइनामिक लुक दिन्छ।
यसकाे साइड प्रोफाइललाई सफा र आधुनिक देखाउन हिडन डोर ह्याण्डलको प्रयोग गरिएको छ। यसको पछाडि बम्परलाई नयाँ लुकमा रिडिजाइन गरिएको छ भने आधुनिक इलेईडी कम्बिनेसन टेललाइटहरू दिइएको छ ।
इक्युट ०४ को लम्बाइ ३६९५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६१५ एमएम रहेको छ । २५०० एमएम लामो ह्वीलबेस रहेको यो ईभीमा १६५ एमएम खग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
यसको क्याबिनलाई पूर्ण रूपमा नयाँ र सरल शैलीमा रिडिजाइन गरिएको छ। ड्यासबोर्डमा अनावश्यक बटनहरू हटाई सफा लुक दिइएको छ। ड्यासबोर्डमा इन्फोटेनमेन्ट र गाडीका सुविधाहरू नियन्त्रण गर्नका लागि सेन्ट्रल टचस्क्रीन डिस्प्ले राखिएको छ।

ड्राइभरका लागि ७ इन्चको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। साथै, यसमा स्टेरिङ कोलुममा दिइएको गियर सिफ्टर, मल्टिफङ्सनल स्टेरिङ ह्वील, की लेस इन्ट्री र वान टच स्टार्ट जस्ता सुविधा पाउन सकिन्छ ।
यसमा ब्लुटुथ, वाइफाइ, एप्पल कारफोन म्यापिङ र ६ वटा स्पिकरहरू रहेका छन् । जसले मनोरञ्जनलाई पूर्ण बनाउँछन् । यसमा ड्राइभरको सुविधाका लागि ६ वे म्यानुअल एड्जस्टमेन्ट सिट र फ्रन्ट प्यासेन्जरका लागि ४ वे म्यानुअल एड्जस्टमेन्ट सिट दिइएको छ ।
सुरक्षालाई प्राथमिकतामा राख्दै इक्युट ०४ मा आधुनिक ड्राइभर असिस्ट र सेफ्टीप्रुफ प्रविधिहरू जडान गरिएको छ । यसमा अगाडि दुई एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि नै दिइएको पार्किङ सेन्सर, एबीएस, ईएसपी, ईबीडी, डीसीएस, अटो होल्ड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, स्टेबिलिटी कन्ट्रोल जस्ता सेफ्टी फिचर छन् ।

