आकर्षक मूल्यमा आयो ‘मोना एल ०५’

काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माता एक्सपेङले नयाँ एसयूभी मोना एल-०५ सार्वजनिक गरेको छ ।

कम्पनीले चिनियाँ बजारमा सुरुआती मूल्य २५ हजार ३०० अमेरिकी डलर तोकेर मोना एल ०५ को प्रि-सेल सुरू गरेको हो । यो मूल्यलाई लग्जरी कार सेग्मेन्टमा चिनियाँ बजारमा निकै आकर्षक मानिएको छ ।

एक्सपेङले आफ्नो एसयूभी पोर्टफोलियो विस्तार गर्दै मोना एल ०५ लाई युवा ग्राहक लक्षित एसयूभीको रुपमा बजारमा लयाएको हो । कम्पनीले मोना एल-०५ ब्याट्री इलेक्ट्रीक भेहिकल र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल गरी दुई विकल्पमा ल्याएको छ ।

यसको प्योर ईभी मोडलमा १८३ किलोवाटको मोटर छ । यसमा ७१.१ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ । जसले एकपटकको फुलचार्जमा ६६० किमीसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यसैगरी, ईआरईभी संस्करणमा ३७.२ किलोवाट आवरको ब्याट्री र १.५ लिटरको रेन्ज एक्सटेन्डर इन्जिन उपलब्ध हुनेछ । दुवै संस्करणमा अधिकतम १८३ किलोवाटको मोटर प्रयोग गरिएको छ । यसको संयुक्त रेन्ज १३१० किमी रहेको छ ।

मोना एल ०५ मा ब्राण्डको स्टारसिप डिजाइन शैलीलाई निरन्तरता दिएको छ, जसमा अगाडिको बम्परमा एक्टिभ ग्रिल सटर जडान गरिएको छ। यसका साथै अगाडि १०२ लिटरको फ्रंक रहेको छ ।

साइडमा डुअल कलर ह्वील, तैरिएको जस्तो देखिने साइड मिरर, पहेँलो ब्रेक क्यालिपर र फ्रेमलेस ढोकाहरू छन् । पछाडि ३०० भन्दा बढी लेजर इन्ग्राभ्ड एलईडीयुक्त पूर्ण चौडाइको ‘स्टार रिङ’ टेललाइट एसेम्ब्ली रहेको छ।

यसको लम्बाइ ४,८७० एमएम, चौडाइ १,९३० एमएम र उचाइ १,६३६ एमएम रहेको छ । यसमा २,९४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ७०२ लिटरको बुट स्पेस छ । जसलाई बढाएर १,९१३ लिटरसम्म पुर्याउन सकिन्छ।

एल ०५ को क्याबिन निकै आधुनिक र आकर्षक छ । यसमा १७.३ इन्चको केन्द्रीय इन्फोटेनमेन्ट स्क्रीन र २६.८ इन्चको डब्लू एचयूडीयुक्त आरामदायी ककपिट डिजाइन रहेको छ ।

अगाडिका सिटहरूमा मसाज, हिटिङ र भेन्टिलेसन सिट छन् । अगाडिको यात्री सिटमा एकै टचमा चल्ने ‘जिरो ग्राभिटी’ मोड समावेश छ। पछाडिका यात्रुहरूका लागि भेन्टिलेटेड सिट, प्राइभेसी ग्लास, सानो टेबल, १७.३ इन्चको मनोरञ्जन स्क्रीन, दुई भागमा विभाजित प्यानोरामिक रुफ पनि रहेको छ।


Back_to_top