काठमाडौं । अत्यधिक हिमपातका कारण अवरुद्ध भएको कर्णाली करिडोर अन्तर्गतको नारापास–हिल्सा सडक खण्ड ३ दिनभित्र संचालनमा ल्याइने भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार सामाजिक सञ्जालमार्फत अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको जानकारी दिएका छन् ।
उनका अनुसार मन्त्रालयको डिभिजन टोलीले जोखिमपूर्ण अवस्थामा काम भइरहेको छ । ३ दिनभित्र सडक पूर्ण रूपमा संचालनमा ल्याउने लक्ष्यका साथ टोली खटिएको उनले बताए ।
समुद्री सतहबाट करिब ४ हजार ५०० मिटरको उचाइमा रहेको यस सडक खण्डको नाउरपानी क्षेत्रमा बाक्लो हिउँ जमेका कारण यातायात अवरुद्ध छ। हाल उक्त क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरी हिउँ पन्छाउने काम धमाधम भइरहेको मन्त्री लम्सालले बताए ।
रोजगारीका लागि हिल्सा नाका हुँदै उत्तरतर्फ चीनको ताक्लाकोट पुगेका नेपाली नागरिकहरूलाई चाडपर्वको समयमा स्वदेश तथा घर फर्कन सहज होस् भन्ने उद्देश्यले सडक खुलाउने कामलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ छ ।

