त्रिवि क्रिकेट मैदान वरिपरीको सडक कालोपत्र गरिने, टेन्डर आह्वान

काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान क्षेत्रको सडक स्तरोन्नति प्रक्रिया अघि बढेको छ ।

सडक डिभिजन काठमाडौंले सोमबार एक सूचना जारी गर्दै क्रिकेट मैदान वरिपरीको सडक कालोपत्र गर्न टेन्डर आह्वान गरेको हो ।

मैदानको बाहिर गुणस्तरीय सडक नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । जसका कारण क्रिकेट हेर्न पुग्ने दर्शकले सास्ती व्यहोर्दै आएका छन् । त्यसैलाई मध्येनजर गर्दै मैदान वरिपरीको सडक स्तरोन्नति गर्न लागिएको हो ।

सडक डिभिजनका अनुसार यस आयोजना अन्तर्गत सडक चौडा पार्ने, माटो काट्ने, माटो भर्ने, नाली तथा पर्खाल निर्माण गरी आस्फाल्ट कंक्रिट प्रविधिको कालोपत्र गर्नुपर्नेछ । साथै, थर्मोप्लास्टिक पेन्टमार्फत सडकमा ट्राफिक चिह्न लगाउने लगायत सुरक्षाका काम गर्नुपर्नेछ ।

डिभिजन कार्यालयका अनुसार ठेक्का सम्झौता भएको ३ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । इच्छुक निर्माण कम्पनीले आगामी कात्तिक १२ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने डिभजनले जनाएको छ ।


Back_to_top