अल न्यू अपाचे आरटीआर २०० फोरभीलाई खास बनाउने ५ पक्ष

काठमाडौं । टीभीएसले नेपाली बजारमा आफ्नो लोकप्रिय स्पोट्र्स मोटरसाइकल अपाचे आरटीआर २०० फोरभीको नयाँ भर्सन बिक्री सुरू गरेको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ४ लाख ५९ हजार ९०० रुपैयाँ मूल्य तोकेर नयाँ मोडल अपाचे आरटीआर २०० फोरभीको बिक्री थालेको हो ।

कम्पनीले अल न्यू अपाचे आरटीआर २०० फोरभी पुरानो मोडलको तुलनामा नयाँ डिजाइनसँगै सस्पेन्सन, सुरक्षा र प्रविधिमा समेत सुधार गरेर ल्याएको छ ।

प्रतिस्पर्धी बजारमा अल न्यू अपाचे आरटीआर २०० फोरभीले आफूलाई नयाँ प्रविधियुक्त विकल्पको रूपमा उभ्याएको छ । अल न्यू आरटीआर २०० फोरभीमा पाइने मुख्य पाँच प्रविधि बारे हामीले यहाँ चर्चा गरेको छौं ।

१. २०० सीसी इन्जिन र २०.८ पीएस पावर

अपाचे आरटीआरमा १९७.७५ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, आयल कुल्ड र फ्युल इन्जेक्सन इन्जिन दिइएको छ । यसले स्पोर्ट मोडमा अधिकतम २०.८ पीएस पावर तथा १७.२५ एनएम टर्क उत्पादन गर्छ ।

पुरानोले २०.५ पीएस पावर र १८.१ एनएम टर्क जेनेरेट गर्छ । नयाँमा पीएस पावर थोरै बढाइएको छ भने टर्क क्षमता घटाइएको छ । मोटरसाइकलमा ५ स्पीड गियरबक्ससँगै असिस्ट एण्ड स्लिपर क्लच पनि दिइएको छ । जसले क्लच संचालनमा सहजता प्रदान गर्छ ।

२. ३७ एमएम यूएसडी फोर्क र नयाँ हाइड्रोफम्र्ड ह्याण्डलबार

यसको मुख्य आकर्षण ३७ एमएमको रेस ट्युन गरिएको यूएसडी फ्रन्ट फोर्क हो । यसले कर्नरिङ गर्दा राम्रो नियन्त्रण र उच्च गतिमा स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, हाइड्रोफम्र्ड सिधा ह्याण्डलबारले राइडिङ पोजिसन, कर्नरिङ र ह्याण्डलिङलाई थप सहज बनाउन सहयोग गर्छ ।

हाइड्रोफम्र्ड ह्याण्डलबार पानी वा तरल पदार्थको उच्च चाप प्रयोग गरी विशेष आकारमा तयार पारिने ह्याण्डलबार हो । यसले ह्याण्डललाई आवश्यक आकार र मजबुती दिन्छ । साथै, राइडरलाई राम्रो ग्रिप र नियन्त्रण पनि प्रदान गर्छ ।

३. स्मार्ट कनेक्टसहितको टीएफटी डिस्प्ले

आवश्यक सबै जानकारी आफूलाई चाहिएको समयमा सहजै प्राप्त गर्न सकिने गरी यसमा ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसले रेस टेलिमेट्री, टर्न बाइ टर्न नेभिगेसन, राइड एनालिटिक्स र टीभीएस स्मार्टफोन कनेक्टिभिटी सुविधा प्रदान गर्छ । यसमार्फत राइडरले ट्रयाक होस् वा सडक, मोटरसाइकलका विभिन्न जानकारी, कल अलर्ट, लो फ्युल वार्निङ एण्ड असिस्ट, डेडिकेटेड इन्फो कन्ट्रोल स्विच, सेटिङ र फिचरलाई सहज रूपमा नियन्त्रण तथा प्रयोग गर्न सक्छन् ।

४. ट्रयाक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस

नयाँ मोटरसाइकलमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोड उपलब्ध छन् । सडकको अवस्था र राइडरको आवश्यकताअनुसार मोड परिवर्तन गर्न सकिन्छ । यसमा ट्रयाक्सन कन्ट्रोल सिस्टम समेत दिइएको छ । यी फिचरले विभिन्न सडक परिस्थितिमा मोटरसाइकल नियन्त्रण गर्न सहयोग पुर्याउँछन् ।

सुरक्षाका लागि यसमा डुअल च्यानल एबीएस दिइएको छ । अगाडि २७० एमएम र पछाडि २४० एमएमको पेटल डिस्क ब्रेक प्रयोग गरिएको छ । यसबाहेक एडजस्टेबल क्लच तथा ब्रेक लिभर र असिस्ट एन्ड स्लिपर क्लचले राइडिङलाई थप सहज र सुरक्षित बनाउन सहयोग गर्छ ।

५. नयाँ ग्राफिक्स र प्रोजेक्टर हेडल्याम्प

मोटरसाइकलको फ्युल ट्यांक र बडी प्यानलमा नयाँ स्टिकर तथा ग्राफिक्स डिजाइन दिइएको छ । आकर्षक डिजाइनको कलर अलोय ह्वीलले यसको लुकलाई थप स्पोर्टी बनाएको छ । मोटरसाइकलमा क्लास डी प्रोजेक्टर हेडल्याम्पका साथै एलईडी डीआरएल तथा फुल एलईडी लाइटिङ सेटअप दिइएको छ ।


Back_to_top