महानगर भित्रको सडक दैनिक अनुगमन हुँदै, अब सडकमा खाल्डा नहुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले दैनिक सडक अनुगन गर्ने भएको छ । महानगरले सडकको अवस्था नाजुक रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न दैनिक अनुगमन गर्न लागेको हो । अनुगमन सँगै सडकमा कुनै खाल्डा नरहने महानगरको दाबी छ ।  

दैनिक अनुगमनका क्रममा ठाउँ–ठाउँमा देखिने भत्किएका सडक तथा फुटपाथहरु  प्याचिङ गर्नेदेखि खाल्टा खुल्टी पुर्ने काम गर्नु देखिएको महानगर अन्तर्गत रहेको शहरी सुव्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । 

उनका अनुसार महानगर भित्र रहेको ८ मिटर भन्दा ठूलो सडकमा सडक विभागले अनुगमन र मर्मत सम्भारको काम गर्ने छ भने ८ मिटर भन्दा साना सडक तथा फुटपाथ अनुगमन र मर्मत सम्भारको काम महानगरले गर्ने छ । 

महानगरका सडकमा जोडिएका छिमेकी नगरपालिकाको सडक समेत उल्लेखित चौडाई अनुसार सडक विभाग र महानगरले  सय मिटरसम्म कालोपत्रे तथा मर्मत सम्भार गरिने उनले बताए । 

‘हामी महानगरभित्र रहेका ८ मिटर साना सडक सबैमा दैनिक अनुगमन गर्दै त्यसको रिपोर्ट अनुसार भत्केविग्रेका सडकलाई तत्काल मर्मत गरिने व्यवस्था मिलाउने छौं’ कुँवरले मेरोअटोसँग भने । 

यसै क्रममा सडकमा पाइप तथा ढल जडान गर्दा निश्किएका निर्माणजन्य फोहोरहरु सम्बन्धित पक्ष्यलाई हटाउन निर्देशन दिइने भएको छ । 

यस अन्तर्गत सडक पेटीबाट निर्माण तथा मर्मत सम्भार गर्ने निकायले निर्माण पश्चात् तत्काल निर्माण समाग्री हटाउनु पर्नेछ । 

पिच तथा निर्माणका कामहरु विशेष गरे रातको समयमा गरिने उनले बताए । जसले दिनमा हुँदा आउने ट्राफिक चुनौतिलाई कम गर्न सकिन्छ । 

यस्तै खाने पानी तथा ढलको पाइप लगाउँदा वरिपरि बार लगाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए । 

यस कार्यलाई कार्यान्वयनमा ल्याउन महानगरपालिका, सडक विभाग र सम्बन्धित निकायलाई साथमा राखि अघि बढाउने काम भइरहेको उनले बताए । 


Back_to_top