काठमाडौं । नेपाली अटोमोवाइल क्षेत्रमा महंगो ब्रान्ड भएरपनि जीप कम्पासले छोटो समयमा १०० युनिट बिक्रीको रेकर्ड बनाउन सफल भएको छ । भारतीय बजारमा उत्पादन सुरु हुनुअघि नै निकै चर्चामा रहेको जीप कम्पासले नेपाली बजारमा पनि प्रबेशसँगै निकै चर्चा बटुल्यो ।
भदौ अन्तिममा भएको नाडा अटो शो २०१८ बाट आधिकारीकरुपमा नेपाली बजारमा प्रबेश गरेको जीप कम्पासले तीन महिनामा १०० युनिट बिक्रीको आँकडा भेट्टाएको हो ।
एमएडब्ल्यू लाईफले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको जीप कम्पास सफल हुनुमा यसको ब्रान्ड लिगेसी मुख्य रहेको बुझन गाह्रो छैन । चर्चित अमेरिकी ब्रान्ड जीप अफरोड एसयूभी निर्माणमा सबैभन्दा अगाडी रहेको कम्पनी हो ।
पछिल्लो समय अफरोड भन्दापनि लग्जरी एसयूभीको माग विश्व बजारमा बढेसँगै कम्पनीले भारतीय बजारमा उत्पादन सुरु गरेको जीप कम्पास नेपाली बजारमा आएसँगै निकै चर्चामा रहेको छ ।
भारतीय बजारमा उत्पादन भएको जीप कम्पास अस्ट्रेलिया, जापान र बेलायतजस्ता राइट ह्यान्ड ड्राइभ भएका देशहरुमा समेत भारतबाटै निर्यात हुँदै आएको छ ।
नेपाली एसयूभी प्रेमीहरु जीपको नामसँग निकै परिचित रहेको र उक्त गाडी नेपाल आए चढ्न आतुर भएका कारण पनि यसले छाटो समयमा ठूलो सफलता पाएको बुझन गाह्रो छैन ।
बजारमा हुन्डाई टुसान, किया स्पोटेज, महिन्द्रा एक्सयुभी ५००, एमजी जीएसजस्ता मोडलसँग कडा प्रतिस्पर्धामा उतारिएको कम्पासले आफ्नो पहिलो परिक्षा पास गरेको कम्पनीले दाबी गरेको छ ।
कम्पासले बजारमा सफलता पाउनुको पछाडि यी कुराहरुको मूल्य भूमिका रहेको छ ।
ब्रान्ड नेम
जीप कम्पासको सबैभन्दा बलियो पक्ष के हो भनेको ब्रान्ड नेम हो । दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाले प्रयोगमा ल्याएसँगै यसको नाम संसारभर परिचित भएको थियो । त्यसमाथि भारतीय बजारमा उत्पादन गरेर यस क्षेत्रका मानिसको क्षमता अनुसारको मूल्यमा गाडी ल्याउनु यसको सबैभन्दा सबल पक्ष हो ।
स्टाइल
यो गाडी सडकमा गुड्दा जो कोहीलाई एक पटक आफुतिर आर्कषित गर्न सक्ने क्षमता राख्छ । बलिष्ठ र आर्कषक बडी स्टक्चर रहेको यो एसयूभीलाई कम्पनीले बिभिन्न ६ वटा कलर भेरिएन्टमा बजारमा ल्याएको छ । साथै, कम्पनीले पछिल्लो समय बजारमा ल्याएको ब्ल्याक प्याकले जो केहीलाई लोभ्याउने छ ।
पावर र सेफ्टी
जीप कम्पास सेग्मेन्टका धेरै मध्य पावरफुल एसयूभी हो । यसमा दिइएको २.० लिटर मल्टिजेट इन्जिनले १७३ बीएचपी पावर र ३५० एनएन टर्क जेनेरेट गर्छ । साथै, १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले १६३ बीएचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्ने क्षमता यी गाडीमा दिइएको इन्जिनमा रहेको छ ।
कम्पासलाई मूल्यअनुसारको फिचर दिन कम्पनीले राम्रो प्रयास गरेको छ । कम्पनीका अनुसार बिभिन्न ५० भन्दा बढी सुरक्षा प्रविधि यसमा जडान गरिएको छ । यसको टप भेरियन्टमा ६ एयरब्याग, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिलहोल्ड, ‘स्नो, स्यान्ड, मड र अटोमेटिक मोड’सहितको फोर ह्वील र अल ह्विल ड्राइभ अप्सनमा समेत उपलब्ध रहेको छ । कम्पासलाई सुरक्षा परिक्षण अष्ट्रेलियन एनक्यापले ५ स्टार सुरक्षा रेटिङ दिएको छ ।
मूल्य
कम्पासका नेपालमा उपलब्ध बिभिन्न १० भेरियन्टको सुरुवाति मूल्य ६९ लाख ९० हजारदेखि टप भेरियन्टको मूल्य ९८ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

