१५ फिट लामो ४ इलेक्ट्रीक एसयूभी, कुन किन्दा धेरै फाइदा ?

काठमाडौं । साइजको हिसावले एसयूभीहरु निकै महत्वपूर्ण मानिन्छन् । हाम्रो बजारमा मिडसाइज सेग्मेन्टका इलेक्ट्रीक एसयूभीमा धेरै छनौट उपलब्ध छन् ।

कम्प्याक्ट मिड साइज र फुल साइज एसयूभीको बीचमा पर्ने १५ फिट लामो एसयूभीहरुमा पनि बलियो छनोट उपलब्ध छ । फिचरका हिसावले बलियो, साइजका हिसावले उत्कृष्ट, स्पेशका हिसाबले अधिकांशको आवश्यकता पुरा गर्ने सेग्मेन्टको रुपमा यी एसयूभी लिन सकिन्छ ।

अहिले हाम्रो बजारमा १५ फिट लामो साइजमा थुप्रै मोडल छन् । त्यसमध्ये जीएसी आयोन भी, प्रोटोन इमास सेभेन, दीपल एस–०५ र डोङफेङ फरथिङ फ्राइडे इलेक्ट्रीक एसयूमीको बारेमा हामीले यहाँ चर्चा गर्दैछौं ।

चर्चा सुरु गर्नु पहिले बुझ्नु पर्ने कुरा के हो भने साइज समान भएपनि यी चार एसयूभीको पावर, रेन्ज, टेक्नोलोजी, क्याविन फिचर र मूल्यमा भने ठूलै अन्तर छ ।

साइजमा फरक

आयोन भीको लम्बाइ ४६०५ एमएम, चौडाइ १८५४ एमएम र उचाइ १६६० एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलवेस छ । कम्पनीले यसमा १९ इन्चको ह्वील दिएको छ भने ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

प्रोटोन इमास सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस प्रयोग भएको छ । भेरियन्ट अनुसार १८ र १९ इन्चको ह्वील दिइएको इमास सेभेनमा १७३ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

चिनियाँ सरकारी कम्पनी डोङफेङको न्यू इनर्जी भेहिकल ब्राण्ड फरथिङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलवेस छ । कम्पनीले १९ इन्चको ह्वील दिएको फ्राइडे एसयूभीमा १८५ एमएम अग्लो ग्राउण्ड क्ल्यिरेन्स दिएको छ ।

नेपाली बजारमा हटकेक बनिरहेको दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वीलवेस छ । १८ इन्चको ह्वील प्रयोग भएको एस-०५ को ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

ब्याट्री र मोटर पावर

मोटर पावरको आधारमा प्रोटोन इमास सेभेन बलियो छ । यसमा १६० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसको पीकटर्क ३२० न्यूटन मिटर छ ।

कम्पनीले भेरियन्ट अनुसार फरक ब्याट्री साइज ४९.५२ र ६०.२२ किलोवाट आवरको अप्सन दिएको छ । जिली ग्रुपले बनाएको एलएफपी एजिज सर्ट ब्लेड ब्याट्री यसमा छ । यसको अधिकतम रेन्ज ४१० किलोमिटर रहेको डब्लुएलटीपी टेस्टले देखाएको छ ।

ब्याट्री साइजको आधारमा सबैभन्दा ठूलो एसयूभी आयोन भी हो । यसलाई पनि दुई ब्याट्री अप्सनमा किन्न पाइन्छ । कम्पनीले ६२.७ र ७५.३ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसमा जीएसीको एलएफपी म्याग्जीन ब्याट्री प्रयोग भएको छ । यसको डब्लूएलटीपी रेन्ज ५१० किलोमिटरसम्म छ ।

जीएसीको आयोन भीमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसले पीकटर्क भने २४० न्यूटन मिटर प्रदान गर्छ ।

दीपल एस-०५ मा ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यसको पीकटर्क भने ३२९ न्यूटन मिटर छ । दीपलले इलेक्ट्रीक क्रसओभर एसयूभीमा सीएटीएलले बनाएको ५६.१ किलोवाट आवरको गोल्डेन सिल्ड एलएफपी ब्याट्री दिएको छ । यसको डब्लुएलटीपी रेन्ज ४०० किलोमिटर छ ।

फरथिङ फ्राइडेमा पनि ९९ किलोवाटकै मोटर रहेको छ । यसको पीकटर्क भने सबै प्रतिस्पर्धीभन्दा कम १७४ न्यूटन मिटर छ । फरथिङ फ्राइडेमा ६४.४ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । फ्राइडे एसयूभीले पनि सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने डब्लुएलटीपी टेस्टले देखाएको छ ।

क्याविन फिचर

प्योर इलेक्ट्रीक प्लेटफर्ममा नबने पनि डोङफेङले फरथिङ फ्राइडेमा लामो फिचरको लिस्ट प्रदान गरेको छ । यसको ड्यासबोर्डमा १४.६ इन्चको टचस्कृन डिस्प्ले पाउन सकिन्छ । त्यस्तै ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, ६ वटा स्पीकर सहितको म्युजिक सिस्टम, सनसेड सहितको प्यानारोमिक सनरुफ, मेमोरी फङ्सन सहितको पावर्ड सिट, भेन्टीलेटेड र मसाज फ्रन्ट ड्राइभर सिट पाउन सकिन्छ ।

दिपलको एस-०५ मा १५.४ इन्चको सनफ्लावर टचस्कृन, एआर नेभिगेसन सहितको हेडअप डिस्प्ले, हिटेड ओआरभीएम, फ्रेमलेस डोर, हिटेड तथा भेन्टीलेटेड सिट, मेमोरी फङ्सन सहितको पावर्ड ड्राइभर सिट पाउन सकिन्छ । यसका अलावा १४ वटा स्पीकर, ५० वाटको वायरलेस चार्जर, १.९ स्क्वायर मीटरको प्यानारोमिक सनरुफ जस्ता फिचरले यसलाई सेग्मेन्ट लिडर बनाएको छ ।

जीएसीले आयोन भीको ड्यासबोर्डमा १४.६ इन्च स्कृन र ८.८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । वायरलेस चार्जर, ड्यूलजोन एसी, १० वटा स्पीकर, प्यानारोमिक सनरुफ यसमा छ । एसयूभीमा आरामदायी संचालनको लागि चालक र फ्रन्ट सिटमा मेमोरी फङ्सन सहितको हिटेड भेन्टीलेटेड सहितको मसाज सिट पाउन सकिन्छ ।

प्रोटोन इमासमा १५.४ इन्चको सेन्टर टचस्कृन, १०.२ इन्चको इन्टुमेन्ट क्लस्टर, अ‍ेडअप डिस्पले, ६ वे पावर्ड ड्राइभर सिट, भेन्टीलेटेड फ्रन्ट सिट, हेडरेस्ट स्पीकर सहितको १६ वटा स्पीकर, वायरलेस चार्जर, प्यानरोमिक सनरुफले यसको क्याविन निकै प्रिमियम लाग्छ ।

मूल्य

मूल्यका हिसावले सबैभन्दा सस्तो दीपल एस-०५ देखिन्छ । यसको मूल्य ५० देखि ५७ लाख रुपैयाँ छ । फरथीङ फ्राइडे अहिले एउटा भेरियन्ट मात्रै छ । यसको मूल्य ५४ लाख ९६ हजार तोकिएको छ ।

त्यसैगरी, प्रोटोनको इमास सेभेनको मूल्य ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म छ भने जीएसीको आयोन भीको मूल्य ६५ लाखदेखि ७० लाख रुपैयाँ सम्म छ ।

निष्कर्ष

माथि चर्चा गरिएका ४ वटै एसयूभी चीनको प्रसिद्ध अटोमोवाइल कम्पनीले उत्पादन गरेका हुन् । सबै एसयूभीमा सुरक्षाका लागि ३६० डिग्री क्यामरा, एयरव्यागहरु र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) फिचर छ ।

रेन्ज, लग्जरी सिट र मस्कुलर एसयूभी रोज्नेको लागि एवोन भी उत्कृष्ट अप्सन हुन सक्छ । पावरफुल ईभी रोज्नेको लागि प्रोटोन इमास सेभेन छनोट गर्नु सहि निर्णय हुनसक्छ ।

फेन्सीलुक्स र आधुनिक क्याविन फिचर तथा रियर ह्वील ड्राइभ सिस्टम भएको र ठिकठाकको रेन्ज चाहिनेको लागि दीपल एस–०५ राम्रो छनोट हुन्छ ।

होइन भने गज्जपको एसयूभी, ट्रेडिस्नल डिजाइन, फिचर, रेन्ज र मूल्यको मिश्रण भएको गाडी खोज्नेको लागि फरथिङ फ्राइडे सहि छनोट बन्न सक्छ ।


Back_to_top