काठमाडौं । सर्वोच्च अदालतले ११० युनिट मोटरसाइकल र स्कुटर खरिदका लागि दुई कम्पनी सर्टलिस्ट गरेको छ ।
बोलपत्र पेश गरेका कम्पनी मध्येबाट सर्वोच्चले प्राविधिक रूपमा मोटरसाइकल खरिदका लागि २ वटा र स्कुटर खरिदका लागि एउटा मात्रै कम्पनी योग्य ठहर्याएको हो ।
सर्वोच्च अदालतका अनुसार ६० वटा मोटरसाइकल खरिदका लागि सीजी मोटर्स प्रालि र हंसराज हुलासचन्द कम्पनीलाई सर्टलिस्ट गरेको छ ।
त्यस्तै, ५० युनिट स्कुटर खरिदका लागि सीजी मोटर्स प्रालिलाई मात्र योग्य ठहर्याएको छ । सर्वोच्चले कति मूल्यमा मोटरसाइकल र स्कुटर खरिद गर्न लागेको हो भन्ने आर्थिक प्रस्ताव खोलेपछि मात्रै थाहा हुनेछ ।
सर्वोच्चका अनुसार आर्थिक प्रस्ताव वैशाख ३० गते दिउँसो साढे १ बजे खोलिने छ । आर्थिक प्रस्ताव खुलेको ३० दिन भित्र सवारी साधन डेलिभरी गरिसक्नुपर्ने छ ।
सर्वोच्चले तोकेको स्पेसिफिकेसन अनुसार मोटरसाइकल १२५ सीसी क्षमताको इन्जिन, १० पीएस पावर तथा १० न्यूटन मिटर टर्क जेनेरेट गर्ने, १० लिटरको इन्धन ट्यांक, फोर स्पीड ट्रान्समिसन भएको, दुवै चक्कामा ड्रम/डिस्क ब्रेक, १५५ एमएमको ग्राउण्ड क्लियरेन्स भएको हुनुपर्नेछ ।
त्यस्तै, स्कुटरतर्फ फोर स्ट्रोक एसआई इन्जिन, न्यूनतम तौल १०० केजी, ११५ सीसी पेट्रोल इन्जिन, ७.५ पीएस तथा ८ न्युटन मिटर टर्क जेनेरेट गर्ने, दुवै चक्कामा ड्रम/हिस्क ब्रेक, १५५ एमएम ग्राउण्ड क्लियरेन्स, कम्तीमा ५ लिटरको इन्धन ट्यांक, २०२४/२५ मा बनेको हुनुपर्नेछ ।
यसअघि सर्वोच्चका न्यायाधीशका लागि ६१ वटा कम्प्याक्ट एसयूभी खरिद गर्न चौधरी ग्रुप अन्तर्गतकै केएमसी अटोमोबाइल्सलाई छनोट भएको थियो ।