उबरले ३ चिनियाँ कम्पनीसँग मिलेर विश्वभर रोबोट्याक्सी संचालन गर्ने

काठमाडौं । अमेरिकी मल्टीनेशनल ट्रास्पोटेसन कम्पनी उबरले चिनियाँ स्टार्टअप कम्पनीसँग मिलेर राबोट्याक्सी लन्च गर्ने भएको छ । कम्पनीले सेल्फ ड्राइभिङ टेक्नलोजीमा काम गरिरहेका तीन स्टार्टअप कम्पनीसँग संयुक्त रुपमा सेल्फ ड्राइभिङ रोबोट्याक्सी विकास गरि विश्वभर लन्च गर्ने योजना बनाएको हो ।

उबरले चीनको स्टार्टअप कम्पनीहरु पोनी एआई, मोमेन्टा र विराइडसँग सेल्फ ड्राइभिङ ट्याक्सी विकास गर्ने सम्झौता गरेको हो । सुरुवातमा उबरले मोमेन्टा पावर्ड रोबोट्याक्सी सन् २०२६ को सुरुवातमा युरोपबाट संचालनमा ल्याउने छ ।

अमेरिकी कम्पनी उबरले मई महिनाको २ तारिकमा मोमेन्टासँग साझेदारीको घोषणा गरेको थियो । मोमेन्टा सन् २०१६ मा स्थापना भएको चिनियाँ अटोनोमस ड्राइभिङ स्टार्टअप हो ।

यस कम्पनीमा एसएआईसी मोटर, जनरल मोटर्स र टोयोटाको समेत लगानी रहेको छ । मोमेन्टाले सन् २०२१ देखिनै एसएआईसीको प्रिमियम ब्राण्ड आईएमलाई सेल्फ ड्राइभिङ सफ्टवेर उपलब्ध गराउँदै आएको छ ।

दोस्रो पोनी एआईको सेल्फ ड्राइभिङ रोबोट्याक्सी टेक्नोलोजी उबरले यसै वर्षको अन्त्यबाट मिडल इस्टका देशहरु प्रयोग गर्ने योजना बनाएको छ । यसको संचालनपछि ग्राहकहरुले चालक सहित वा चालह रहित उबर ट्याक्सी छनौट गर्ने सुविधा पाउनेछन् ।

सन् २०१६ मा स्थापना भएको पोनी एआईमा टोयोटा र नियोको लगानी रहेको छ । ग्वान्जाओमा हेडक्वाटर रहेको पोनी एआईले बेइजीङ र ग्वान्जाओमा चालक रहित सवारी साधन संचालन गर्ने अनुमति पाएको छ ।

तेस्रो चिनियाँ अटोनोमस ड्राइभिङ कम्पनी विराईडले भने गत वर्षको सेप्टेम्बरमै उबरसँग रणनीतिक साझेदारीमा काम सुरु गरेको थियो । कम्पनीले युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा ५० वटा रोबोट्याक्सी संचालन गर्ने घोषणा गरेको छ । उबर र विड्राइभ मिलेर आगामी ५ वर्षमा युरोप सहितको १५ वटा सहरमा सेल्फ ड्राइभिङ रोबोट्याक्सी संचालन गर्ने योजना बनाएका हुन् ।

सन् २०१७ मा स्थापना भएको विराइडमा बोश, निभिडिया र व्ल्याकरक जस्ता विश्वविख्यात कम्पनीको लगानी रहेको छ । कम्पनीसँग चीन, अमेरिका, युएई र युरोपमा अटोनोमस ड्राइभिङ परमिट छ ।


Back_to_top