काठमाडौं । जिली अटोमोबाइल होल्डीङ लिमिटेडले जीकर इन्टेलिजेन्ट टेक्नोलोजी होल्डिङ लिमिटेडलाई पूर्णतया आफ्नो स्वामित्वमा ल्याउने भएको छ । अहिले जिली होल्डिङसँग जीकरको ६५.७ प्रतिशत स्वामित्व छ ।
जिलीले इलेक्ट्रीक बिजनेसमा केन्द्रीत हुनको लागि जीकरको पूर्ण स्वामित्व लिने भएको हो । कम्पनीले इन्टेलिजेन्ट न्यू इनर्जी भेहिकल सेक्टरमा ग्लोबल कम्पिटिसन गर्नको लागि आफ्नो सबै ईभी ब्राण्डलाई एकीकृत गर्न लागेको हो ।
जिली अटोमोबाइलको ब्राण्ड पोर्टफोलियोमा जीकरलाई ग्लोबल प्रिमियम टेक्नोलोजी ब्राण्डको रूपमा स्थापित गर्ने योजना बनाएको छ । त्यस्तै, लिंक एण्ड कोलाई हाई इण्ड एनईभी मार्केटमा बलियो बनाउने लक्ष्य लिएको छ ।
जिलीले ग्यालेक्सी र चाइना स्टार सिरीजलाई भने विश्व बजारमा ठूलो संख्यामा बिक्री गर्न सकिने योजना सहित काम गरिरहेको छ । नेपालमा पनि प्रोटोन इमास-७ जिलीको ग्यालेक्सी सिरिजबाट आएको हो ।
मुख्य चारवटा न्यू इनर्जी भेहिकल ब्राण्ड रहेको जिलीले टेक्नोलोजी विकास, नयाँ मोडलको विकास, सप्लाई चेन निर्माण, उत्पादनमा चुस्तता, बजारीकरण, सर्भिस र विश्व बजारीकरणमा जोड दिने जनाएको छ । सबै ब्राण्डको काम केन्द्रीकृत गर्दै डिजाइन, इनोभेसन र इकनोमिक अफ स्केल बढाउने छ । सबै ब्राण्डलाई एकीकृत गरेपछि प्रतिस्पर्धी क्षमता पनि बढ्ने कम्पनीको भनाइ छ ।
जिली अटोमोबाइलले अप्रिल २०२५ मा २ लाख ३४ हजार ११२ युनिट न्यू इनर्जी भेहिकल बिक्री गरेको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १४४ प्रतिशतले धेरै हो । जिली अटोमोबाइलको कुल बिक्रीमा एनईभीको हिस्सा ५३.६३ प्रतिशत रहेको छ ।
जिली अटोमोबाइल ग्रुपको अन्तर्राष्ट्रिय ब्राण्डहरू भल्भो, पोलेस्टर, प्रोटोन, स्मार्ट, एस्टन मार्टिन र लोटसमा पनि लगानी छ । त्यस्तै कमर्शियल भेहिकलमा लण्डन ईभी कम्पनी, रेडारा अटो, फारिजनमा समेत लगानी रहेको छ ।