काठमाडौं । बजाजले आफ्नो पल्सर सिरिजको सबैभन्दा सानो क्षमताको पल्सर १२५ मोटरसाइकलको २०२६ नयाँ अपडेट भेरियन्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले पल्सर १२५ मोटरसाइकललाई केही अपडेट गरेर भारतीय बजारमा ल्याउने तयारी गरेको हो । बजाजको २०२६ भेरियन्ट पल्सर १२५ भारतमा औपचारिक रूपमा सार्वजनिक हुनुअघि नै शोरुमहरूमा देखिएको हो ।
भारतमा २०१० बाट सुरू भएको बजाजको पल्सर (क्लासिक) लाइनअपका प्राय सबै मोडलहरू अपडेट भइरहेका छन् । सोही क्रमलाई निरन्तरता राख्दै कम्पनीले १२५ लाई पनि अपडेट गरेर ल्याउने भएको हो ।
डिलरमा देखिएको नयाँ भेरियन्ट पल्सर १२५ मा नयाँ फेसिया(अगाडिको भाग) र ग्राफिक्सका साथै थप सुविधाहरू र प्रिमियम लुक दिइएको छ ।
२०२६ पल्सर १२५ मा नयाँ एलईडी हेडलाइट सेटअप सहितको नयाँ फेसिया दिइएको छ । पल्सर १२५ मा पहिलो पटक एलईडी हेडलाइट सेटअप र एलईडी टर्न इन्डिकेटरहरू प्रयोग गरिएको हो । जसले मोटरसाइकललाई पहिलेको तुलनामा अझै आधुनिक र प्रिमियम बनाएको छ ।
मोटरसाइकललाई नयाँ लुक दिन कम्पनीले इन्धन ट्याङ्की, साइड बडी प्यानल र इन्जिन काउलमा नयाँ ग्राफिक्सहरू प्रयोग गरेको छ ।
२०२६ बजाज पल्सर १२५ पहिले जस्तै डिजाइनमा छ । यसमा टेलिस्कोपिक फ्रन्ट फोक्र्स, रियर ट्विन शक एब्जर्बर, १७ इन्चको एलोय ह्वील, अगाडि डिस्क ब्रेक, पछाडि ड्रम ब्रेक र क्लिप अन ह्याण्डलबारहरू रहेका छन् ।
त्यस्तै, यसमा इलुमिनेटेड स्विचगियर, किक स्टार्टर, प्रपर फ्ल्यासर लेफ्ट साइड स्विच, इन्जिन किल स्विच, ब्रेक लिभरमा कभर र ब्लूटुथ कनेक्टिभिटी सहितको पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलाई नै निरन्तरता दिइएको छ ।
बजाज पल्सर १२५ मा १२४.३८ सीसीको एयर कुल्ड, सिंगल सिलिण्डर, इन्जिन प्रयोग गरिएको छ । यस इन्जिनले अधिकतम ११.८ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।
भारतीय मोटरसाइकल ब्राण्ड बजाज अटोको पोर्टफोलियोमा (क्लासिक पल्सर) लाइनअप सबैभन्दा सफल मध्येको एक हो । यसमा हाल पल्सर २२०, पल्सर १५० र पल्सर १२५ समावेश छन् ।

