नयाँ डिजाइनमा देखियो ‘होण्डा ज्याज’

काठमाडौं । जापानी अटो निर्माता होण्डाले ज्याज ह्याचब्याक कार चीनमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्ने मिति नजिकिएसँगै नयाँ ज्याजको तस्बिर बाहिर आएको हो ।

चीनमा साना पेट्रोल कारको बजार अपेक्षाकृत राम्रो मानिँदैन । तर पनि कम्पनीले ३ हजार युनिट ज्याज ह्याचब्याक कार बजारमा उतार्ने तयारी गरिएको मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् ।

जापानी वेबसाइट क्रिएटिभ ट्रेन्डले प्रकाशित गरेको रिपोर्ट अनुसार होण्डा र जीएसी बीचको संयुक्त लगानीमा उत्पादन भएको नयाँ कारको तस्बिरहरू अटोहोम डटकममा प्रकाशित भएको थियो । अन्तर्राष्ट्रिय बजारमा होण्डा फिट नामबाट पनि बिक्री हुँदै आएको ह्याचब्याकको बाहिरी डिजाइन ईभीबाट प्रेरित रहेको देखिएको छ ।

होण्डाले अहिले पेट्रोल इन्जिनमा मात्रै ल्याउने अनुमान गरिएको नयाँ ज्याजमा १.५ लिटर क्षमताको इन्जिन रहनेछ । यसले १२० पीएस पावर र १४५ न्यूटन मिटर पीकटर्क प्रदान गर्नेछ । यसमा अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ ।

होण्डाले सन् २०२० बाट अन्तर्राष्ट्रिय बजारमा ज्याज मोडलको उत्पादन र बिक्री बन्द गरेको थियो । अहिले त्यही मोडलको नयाँ तस्बिरहरू बाहिर आएका छन् । यसले के होण्डाले चीनमा ज्याज ह्याचब्याकको ईभी मोडल बनाउने तयारी गरिरहेको छ ? भन्ने प्रश्न पनि उब्जाएको छ ।

 


Back_to_top