काठमाडौं । रोयल इन्फिल्ड, जावा र होन्डाले विक्री गर्दै आएको ३५० सीसीसम्मका मोटरसाइकलको मूल्य ७० देखि ८० हजारसम्मले बढ्ने भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयकले मोटरसाइकलको सेग्मेन्ट छुट्टाएर अन्तःशुलक वृद्धि गरेसँगै यो सेग्मेन्टमा विक्री हुँदै आएका मोटरसाइकलको मूल्य धेरै बढ्ने भएको हो ।
यसअघि ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएको यो सेग्मेन्टमा अहिले ८० प्रतिशत अन्तःशुल्क लगाइएकोले मोटरसाइकलको मूल्य व्यापक वृद्धि हुने विक्रेताहरुको भनाई छ ।
अहिले यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल रोयल इन्फिल्ड क्लासिक ३५०, मेटोर ३५०, जावा ४२, जावा क्लासिक ३००, जावा पेरक, होन्डा सिबी हाइनेस ३५०, सिबी ३५० आरएस, केटीएम ३९० जस्ता मोडलहरु रहेका छन् ।
ग्राहकले अहिले ५ लाखदेखि ७ लाख ७५ हजारसम्ममा किन्न सक्ने यी मोटरसाइकलको मूल्य अब बढेर ५ लाख ७० हजारदेखि ८ लाख ५० हजारको बीचमा पुग्ने अनुमान गर्न सकिन्छ । सबै कम्पनीहरुले केही दिन भित्रै नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेका छन् ।


