काठमाडौं । बजारमा विद्युतीय गाडीको चर्चा निकै बढेको छ । अहिले तत्काल इभी खोज्ने मानिसले इभी बुकिङ गरेर बस्नु पर्ने अवस्था रहेको छ । बजार माग बढेसँगै विभिन्न कम्पनीले नयाँ इलेक्ट्रीक कार ल्याउने प्रयास गरिरहेका छन् ।
विश्व बजारमा इभीको उच्च माग हुनु र नेपाल सरकारले पनि विद्युतीय गाडीमा कटौती गरेको सुविधा पुन सुरु गर्नुले बजारमा इभी खोज्ने ग्राहक बढेका हुन् । चलाउन सहज, आवाज र प्रदुषण सहित साधन भएकै कारण विद्युतीय गाडीको विक्री बढेको हो ।
अहिले बजारमा हुन्डाई, एमजी, किया, विवाइडी, दिगो, डेरी, महिन्द्रा, टाटा र निसान जस्ता ब्राण्डले विद्युतीय गाडी विक्री गर्दै आएका छन् । यी मध्ये नयाँ गाडी हुन्डाई र एमजीले थप गर्दै छन् भने अर्को एउटा चिनियाँ ब्राण्डको इलेक्ट्रीक कार नेपाल आउँदैछ ।
विद्युतीय गाडीमा धेरै संख्यामा सेमीकन्डक्टरहरुको प्रयोग हुने भएकाले अहिले यसको उत्पादनमा चुनौती देखिएको छ । सोही कारण माग अनुसारको विद्युतीय गाडी आपूर्ति हुन नसकेको विक्रेताहरुको भनाई छ ।
हुन्डाई आयोनिक ५
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाई आयोनिक ५ छिटै नेपाल आइपुग्ने जानकारी दिएको छ । विगत दुई वर्षदेखि नै हुन्डाईको आयोनिक सेडान र कोना क्रसओभर विक्री गर्दै आएको कम्पनीले आगामी नोभेम्बरमा आयोनिक ५ नेपाल आउने जानकारी दिएको हो ।

हुन्डाईको नयाँ आयोनिक ५ एसयूभीमा शोलार रुफ प्रयोग गरिएको छ । उक्त शोलारको सहायताले वार्षिक २ हजार किलोमिटर गाडी गुडाउन सकिने कम्पनीले जनाएको छ ।
अहिले दक्षिण कोरिया, यूरोप र अमेरिकी बजारमा विक्री सुरु भएको आयोनिक ५ ५८ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यसको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यसको सुरुवाती मूल्य ८० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
एमजी ५
मोरिस ग्यारेज (एमजी)ले आफ्नो इजेडएसको ठूलो सफललापछि अब नयाँ इभी ल्याउने तैयारी गरेको छ । एमजीको नेपालका लागि आधिकारीक वितरक प्यारामाउण्ट मोटर्सले एमजी ५ मोडलको नयाँ इभी छिटै नेपाल ल्याउने तयारी गरेको हो ।

बेलायतमा विक्री वितरण हुँदै आएको एमजी ५ को सिधा प्रतिस्पर्धा निसान लिफसँग हुने अनुमान गरिएको छ । क्रसओभर डिजाइनमा रहेको एमजी ५ को डिजाइन निकै आकर्षक देखिएको छ । कम्पनीले यो इभीको मूल्य ५० लाखभन्दा कम राख्ने अनुमान गर्न सकिन्छ । यसको अन्य टेक्नीकल डिटेल भने केही बाहिर आएको छैन ।
गाय जीबेन्ज एक्स८ इभी
इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ ब्राण्डको इभी ल्याउने भएको छ । कम्पनी साङडोङ गाय न्यू इनर्जी टेक्नलोजी कम्पनीले बनाएको जीबेन्ज एक्स ८ मोडलको इभी ल्याउने भएको हो ।

निकै सानो सायजमा आउने यो इभीको लम्बाई ३४५० एमएम, चौडाई १५५० एमएम र उचाई १६३० एमएम रहेको छ । झट्ट हेर्दा माइक्रो एसयूभी जस्तो देखिने यो इभीमा २२६० एमएमको ह्वीलवेस रहेको छ । १७० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो इभीलाई एक पटकको फुल चार्जमा १५० देखि २०० किलोमिटरसम्म चलाउँन सकिन्छ ।
दशैं अगाडि नै नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको एक्स ८ इभी दुई भेरियन्टमा नेपाल आउने छ । यसको मूल्य २० देखि २५ लाख पर्ने अनुमान गरिएको छ ।


