मासिक ११ हजारदेखि १४ हजारसम्म किस्ता तिरेर किन्न सकिने ३ कार

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको ८.२५ प्रतिशतको व्याजदरमा साना गाडी किन्न चाहनेलाई अफर ल्याएसँगै इन्ट्री लेवल कार किन्न चाहने ग्राहकलाई सजिलो हुने भएको छ ।

बैंकले सेवा शुल्कपनि ०.२५ प्रतिशत मात्रै लाग्ने व्यवस्था गरेको छ । यसले कोरोना भाइरसको कारण सामाजिक दुरी कायम गर्दै काममा जान चाहने र सक्ने ग्राहकले सरल किस्तामा इन्ट्री लेवल कार किन्न सक्ने छन् ।

गाडी बिक्री गर्ने कम्पनीले पनि थोरै रकम तिरेर कार किन्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष अफर ल्याएका छन् ।

एनआईसी एशिया बैंकबाट कर्जा दिएर गाडी किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ भने बाँकी रकम कर्जा लिन सक्ने छन् ।

अहिले हुन्डाईले आफ्नो इन्ट्री लेवल कारको रुपमा सेन्ट्रो बिक्री गर्दै आएको छ भने मारुती सुजुकीले अल्टो र डाट्सनले रेडी गो बिक्री गर्दै आएको छ ।

मूल्यको हिसावले मारुती सुजुकी अल्टो सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ ।

त्यसैगरि हुन्डाई सेन्ट्रो यी दुईको तुलनामा केही महंगो मोडल हो । यसको मूल्य बीएस ६ मोडलको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नगद छुट

तुलनात्मक रुपमा महंगो रहेको हुन्डाई सेन्ट्रोमा १ लाख रुपैयाँ नगद छुट रहेको छ भने अल्टोमा ९० हजार रुपैयाँ छुट पाउन सकिन्छ । साथै, डाट्सनले रेडी गोमा ७५ हजार रुपैयाँ नगद छुट गरेको छ ।

डाउन पेमेन्ट

हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसको मूल्य २३ लाख ९६ हजारमा कम्पनीले १ लाख नगद छुट दिएको कारण ग्राहकले डाउन पेमेन्ट बापत ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

मारुती सुजुकीले अल्टोको मूल्य १८ लाख ९९ हजार तोकेको छ । यसमा ग्राहकले ९० हजार रुपैयाँ नगद छुट पाउने छन् । अल्टो किन्न चाहने ग्राहकले ९ लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ ।

त्यसैगरि डाट्सन रेडी गो किन्न चाहने ग्राहकले यसको सुरुवाति मूल्य १९ लाख ९९ हजार रुपैयाँमा ७५ हजार घटाएर आउने रकमको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ । रेडी गोको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ ।

मासिक किस्ता

एनआईसी एशिया बैंकले १० वर्षको लागि कर्जा दिने अफर गरेको छ । बैंकको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

त्यसैगरि मारुती सुजुकी अल्टो किन्न चाहने ग्राहकले ११ हजार ९३ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

डाट्शन रेडी गो किन्न चाहने ग्राहकले ११ हजार ७९९ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

बैंकले अहिले ल्याएको कर्जाको व्याजदर १ वर्षसम्म परिवर्तन नहुने जनाएको छ ।


Back_to_top