काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट भोलि जेठ १५ गते प्रस्तुत गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने बजेटलाई अटोमोबाइल क्षेत्रले पनि विशेष चासोका साथ हेरिरहेको छ ।
सरकारले हरेक पटकको बजेटमा अटोमोबाइल क्षेत्रमा लाग्दै आएको करका दरमा हेरफेर गरेको पाइन्छ । चालु बजेटमा भने ईभीको हकमा बजेट परिवर्तन भएन ।
यसपटक नयाँ जनादेशसहितको सरकार छ । सरकार संचालकहरू विल्कुलै नयाँ छ । तर, हाम्रो ब्यूरोक्रेसी र काम गर्ने तरिकामा कुनै परिवर्तन आएको छैन । त्यसैले नयाँ बजेटमा कुन क्षेत्रको करमा कति परिवर्तन होला भन्ने अनुमान नै गर्न सकिएको छैन ।
आर्थिक वर्ष २०८३/८४ को बजेटले लिने कर नीति हेरेर नयाँ गाडी बजारमा ल्याउने योजनामा धेरै बिक्रेताहरू छन् । त्यसमध्ये केही नयाँ उत्पादन बजेट लगत्तै नेपाली बजारमा बिक्री सुरू हुने अनुमान गर्न सकिन्छ ।

ओमोडा ई फाइभ फेसलिफ्ट
सबैभन्दा पहिला ओमोडा ई फाइभ एसयूभी नेपाली बजारमा आउने छ । चेरी ग्रुपको स्वामित्वमा रहेको ओमोडा/जेको ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलका अनुसार बजेट लगत्तै ई फाइभ एसयूभीको बिक्री सुरू हुन्छ । यसअघि नै नेपाली सडकमा बाक्लो उपस्थिति जनाइसकेको ई फाइभको फेसलिफ्ट मोडलमा व्यापक परिवर्तन पाउन सकिनेछ ।
कम्पनीले अहिलेसम्म नयाँ ई फाइभको मोटर, ब्याट्री, साइज, ग्राउण्ड क्लियरेन्स लगायतका फिचर बारे जानकारी दिएको छैन । फेसलिफ्ट ई फाइभको डेमो युनिट भने नेपाल आइसकेको छ ।
टोयोटा र्याभफोर
टोयोटा र्याभफोर हाइब्रिड अर्को बजेट लगत्तै बिक्री सुरू हुने मोडल हो । टोयोटा र्याभफोरको छैटौं जेनेरेशन मोडल युनाइटेड ट्रेडर्स सिण्डिकोट प्रालिले नेपाल ल्याउन लागेको हो ।

विश्व अटोमोबाइल बजारमा हाइब्रिडको कुरा आउँदा निर्विवाद टोयोटा च्याम्पियन हो । हाइब्रिड इन्जिनमा मात्रै उपलब्ध हुने नयाँ जेनेरेशन र्याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ ।
सेल्फ चार्जिङ हाइब्रिडको फ्रन्ट ह्वील ड्राइभ अप्सनले इन्जिन र इलेक्ट्रीक मोटरले संयुक्त पावर २३९ हर्स पवार छ । जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १७ हर्स पावर बढी हो । सेल्फ चार्जिङ हाइब्रिड मोडलमा ब्याट्रीको साइज भने १.५ किलोवाट आवरको हुनेछ ।
हुन्डाई आयोनिक नाइन
हुन्डाईको सबैभन्दा ठूलो साइजको इलेक्ट्रीक एसयूभी पनि नेपाल आउन बजेट पर्खेर बसेको छ । हुन्डाईको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने आयोनिक नाइन फुल साइज एसयूभी हो ।

नेपाल सरकारले लगाउने नयाँ करमा आधारित रहेर आयोनिक नाइन नेपाल आउने छ । अहिले नै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसको ब्राण्ड प्रवद्र्धनात्मक गतिविधि गर्दै आएको छ ।
हुन्डाई आयोनिक नाइनमा निकै ठूलो ११०.३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । साथै, यसको रियर ह्वील ड्राइभ अप्सनमा १६० किलोवाटको मोटर पाउन सकिन्छ । सम्भवतः यही भेरियन्ट नेपाल आउने छ ।


