काठमाडौं । नेपालमा दुइपाँग्रे सवारी साधन अन्तर्गत मोटरसाइकलको बजार तिब्र गतिमा बिस्तार भइरहेको छ । मोटरसाइकल किन्न र चढ्न चाहने मानिसको संख्या बढेसँगै रोजाइ, इच्छा र ग्राहकको क्षमता अनुसारका मोटरसाइकल बजारमा आइरहेका छन् ।
पछिल्लो दुई वर्षको अन्तराललाई केलाउँदा थुप्रै नयाँ ब्रान्ड नेपाल भित्रिएका छन् । एकपछि अर्को गर्दै विश्व बजारमा उत्पादन भएका मोटरसाइकल नेपाली बजारमा आइरहेका छन् । सानो बजारका बाबजुद यहाँ करिब ३० भन्दा बढी ब्राण्डका मोटरसाइकल बिक्री भइरहेका छन् ।
गतवर्ष नेपाल भित्रीएका बिएमडब्ल्यु, एमभी अगस्टा, हार्ले डेभिडसन, जिपीएक्स लगायतका विभिन्न नयाँ ब्रान्डका मोटरसाइकल अहिले नेपाली बजारमा उपलब्ध छन् । ती कम्पनीले कस्ता र कति मोडल बिक्री गरिरहेका छन् त ?
जिपीएक्स
गत नाडा अटोशोबाट नेपाली बजारमा भित्रिएको जीपीएक्स ब्रान्डका ६ बाइक बिक्री हुँदै आएको छ । कम्पनीले १५० सीसी सेग्मेन्टको डेमोन १५० जीएन, लेजेन्ड १५० एस, लेजेन्ड २००, जेन्टलम्यान २००, जिपीएक्स २०० रेजर, जेन्टलम्यान रेसर २०० मोटरसाइकल बेचिरहेको छ ।
‘डेमोन १५० जिएन’ १५० सीसी क्षमताको मोटरसाइकल हो । कम्पनीले यो मोटरसाइकल ३ लाख ९६ हजार ७ सय रुपैयाँमा बिक्री गरिरहेको छ । यो बाइक कम्पनीको सबैभन्दा कम मूल्यको बाइक हो भने यस्तै, जेन्टलम्यान २०० सबैभन्दा महङ्गो । यसको मूल्य ५ लाख ८३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
बिएमडब्ल्यू
नेपालमा बिएमडब्ल्यूको जी–३१० आर र जी–३१० जीएस मोटरसाइकल बिक्री भइरहेको छ । कम्पनीले रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ भने सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।
त्यसैगरी रातो र कालो रंगको बिएमडब्ल्यू जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ । दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ९ हजार ५०० आरपीएममा ३४ बीएचपी पावर र ७५ हजार आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ ।
क्लेभल्यान्ड
यसैबीच, नेपालमा करिब एक वर्षअघि देखिनै अमेरिकी ब्राण्ड क्लेभल्यान्डका मोटरसाइकल नेपालमा बिक्री वितरण भइरहेका छन् । क्लेभल्यान्ड मोटसाइकल नेपाली बजारमा आजु मोटर प्रालिले बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले अहिले बजारमा एसीइ डिलक्स, एसीइ स्क्राम्बलर, मिसीफिट र एफएक्सआरसहित चार मोडलका मोटरसाइकल बिक्री गरिरहेको छ । कम्पनीको सबैभन्दा कम मूल्यको क्लेभल्यान्ड साइकलवर्क एफएक्सआर ३ लाख ५९ हजारमा बिक्री भइरहेको छ भने, हाई मूल्यको मोटरसाइकल वर्क मिसिफिस्ट ५ लाख ६७ हजारमा बिक्री भइरहेको छ ।
एमभी अगस्टा
निक्कै महङ्गा मूल्यका बाइक सहित नेपाल भित्रिएको यो कम्पनीले आठ मोडलका बाइक बिक्री गर्दै आएको छ । कम्पनीले कम मूल्यको ब्रुटेल ६७५ देखि महङ्गो मूल्यको एफफोर रोस्सो र एफफोर ब्लान्को मोटरसाइकल बेचिरहेको छ । बुुटेल ६७५ को मूल्य २२ लाख ४५ हजार रुपैयाँ रहेको छ भने, अन्य दुई बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
हार्ले डेभिडसन
हार्लेे डेभिडसनलाई महङ्गो मूल्यका बाइक बेच्ने कम्पनीको रुपमा लिइन्छ । कम्पनीले ग्राहकको अर्डर अनुसार बाइक ल्याउने गर्छ । हाल, कम्पनीले बेच्दै आएको स्पोर्टर आइरन ८८३ को मूल्य ४० लाख रुपैयाँमा रहेको छ ।


