काठमाडौं । चाबहिल–साँखु सडकखण्डमा यही मंसिर मसान्तसम्ममा कालोपत्रे गरिसक्ने उपत्यका विकास आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठका अनुसार मंसिर अघिनै चाबहिल–साँखु सडकखण्डका अधिकांश स्थानमा कालेपत्रे गरिसकिने जानकारी दिए ।
उनले चाबहिलदेखि चुचेपाटीमा सब-बेसहरु सबै मिलाएर फाइनल भइसकेकोले अबको केही दिनमा कालोपत्रे हुने जानकारी दिए । ‘सबबेस विच्छाइसकेको छ, बेस झार्दै छौँ, बेस हुना साथ डिबीएम हुन्छ’, श्रेष्ठले मेरोअटोसँग भने ।
उनले ८/१० दिनमै चाबहिल चुचेपाटीको डिबिएम पुरा गरिने बताए । चाबहिल–चुचेपाटीको काम सकेपछि बौद्ध पिपलबोटबाट जोरपाटीसम्मको काम सुरु हुने उनले जानकारी दिए । बौद्ध पिपलबोटबाट जोरपाटीसम्मको कालेपत्रे पनि मंसिरमा सक्ने तयारी भइरहेको छ ।
बागमती पुलपारी दक्षिणढोकासम्मको काम पानीको पाइपलाइनको कारण केही ढिला हुने भएपनि त्यसउता थलीको मुखसम्मको काम अबको केही दिनमा सकिने उनले जानकारी दिए ।
थली बजारमा भने कसरी बिस्तार गर्ने भन्ने अन्योल रहेको देखिन्छ । थली उता डाँछीको मुखसम्म पनि कालोपत्रे गर्ने तयारी भइरहेको छ । तर, डाँछीको केही एरियामा भने समस्या रहेको छ । नयाँपाटीदेखि ब्रमखेलको पुलसम्म पनि कालोपत्रे गर्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए ।
आयोजनाले काम अगाडि बढीरहेको भनेपनि कुसुम थलीदेखि सलम्बुदेवी जंगलको आधा भागमा भने तत्काल कालोपत्रे गर्ने सम्भावना छैन । जंगलको आधा भागदेखि साँखु बसपार्कसम्मको एरिया भने कालोपत्रे भइसकेको छ ।
यसरी आयोजनाले चाबहिल साखुँसम्म लगभग सबै मंसिर भित्रै पिच गर्ने योजना बनाएको छ ।
‘पिचबाहेक नाली, फुटपाथ, रंगरोगन, ट्राफिक साइनको काम पनि तत्काल सुरु हुने छ, त्यही अनुसार काम भइरहेको छ,’ श्रेष्ठले भने ।
हालसम्म यो सडकमा कुल लगानीको ६० प्रतिशत रकम खर्च भएको छ भने ६० प्रतिशत नै भौतिक प्रगती भएको आयोजनाले जनाएको छ । १ अर्ब ७५ करोड रुपैयाँ लगानीमा बन्दै गरेको सो सडकखण्डमा हालसम्म १ अर्ब ४ करोड रुपैयाँ खर्च भइसकेको छ ।


