काठमाडौं । अहिले सवारीसाधनको डिजाइन, आधुनिक टेक्नोलोजी र सुविधा मात्रै हेरेर सवारीसाधन किन्ने गरिदैन । गाडी किन्ने मानिसले सबैभन्दा बढी महत्वको साथ हेर्ने विषय सुरक्षा पनि हो ।
मानिसले आफ्नो गाडीमा आफुसँगै आफ्नो परिवार पनि लिएर यात्रा गर्ने गरेको हुन्छ । यस्तोमा आफुँसँगै परिवारको सुरक्षामा गाडी किन्ने मानिसको ध्यान जानु स्वभाविक हो ।
अहिले भारतीय कम्पनीले उत्पादन गरेका गाडीहरु पनि ग्लोवल एनक्यापमा निकै राम्रो गरिरहेका छन् । यस्तोमा भारतीय मोटर उत्पादक कम्पनीले भारतमा उत्पादन गरेर नेपालमा बिक्री वितरण गरिरहेको उत्कृष्ट क्र्यास टेष्ट नतिजा ल्याउन सफल ५ गाडी यस प्रकार रहेका छन् ।
५. मारुती सुजसकी भिटारा ब्रेजाः मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी भिटारा ब्रेजा ग्लोवल एनक्यापमा ४ स्टार पाउन सफल मोडल हो । यसलाई सन् २०१६ देखि भारतमा उत्पादन गर्दै आएको छ । नेपाली बजारमा सिजी मोटोकर्पले बिक्री गर्दै आएको भिटारा ब्रेजा सफल मोडलको रुपमा रहेको छ ।

नेपालमा यो एसयूभीको मूल्य ३९ लाख ४९ हजार रुपैयाँदेखि ४५ लाख २९ हजार रुपैयाँसम्म तोकेर बिक्री हुँदै आएको छ ।
४. टाटा टियागो र टिगोरः भारतीय सवारी उत्पादक कम्पनी टाटाका दुई मोडल टियागो र टिगोर ग्लोवल एनक्यापमा ४ स्टार रेटिङ पाउन सफल सफल गाडी हुन् । टाटाको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यी गाडी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा टाटाको प्यासेन्जर कार सेगमेन्टमा बलियो उपस्थिति टियागो मोडल आएसँगै भएको मान्नेहरु धेरै पाइन्छन् । यस्तोमा टाटा टियागोको मूल्य २४ लाख ९५ हजारदेखि ३० लाख ९५ हजारसम्म रहेको छ ।
त्यसैगरि टिगोरको सुरुवाति मूल्य २७ लाख ९९ हजारदेखि ३१ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । टाटा टियागो ह्याचव्याक मोडल हो भने टाटा टिगोर सेडान कार हो ।
३.महिन्द्रा मराजोः महिन्द्राले गतवर्ष ल्याएको एमपीभी मराजो सुरक्षाको हिसावले उत्कृष्ट मानिन्छ । ग्लोवल एनक्यापले यसलाई ४ स्टार रेटिङ प्रदान गरेको छ । नेपालमा अग्नी इनकर्पोरेटले बिक्री गर्दै आएको मराजो ठूलो परिवार हुने मानिस र होटल तथा ट्राभल एजेन्सीहरुलाई निकै उपयोगि रहेको छ ।

नेपाली बजारमा मराजोको मूल्य ५८ लाख २० हजारदेखि ६४ लाख ३० हजार रुपैयाँसम्म रहेको छ ।
२. टाटा नेक्सनः टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदीको नेपाली बजारमा गेमचेन्जर सब फोर मिटर एसयूभीको रुपमा आएको यो गाडी सुरुदेखि नै ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ प्राप्त गाडी हो । टाटा नेक्सन नै भारतीय कार निर्माताले बनाएको पहिलो ५ स्टार रेटिङ पाउन सफल गाडी हो ।

नेपालमा छोटो समयमा नै सफलता चुमेको यो एसयूभी बजारमा ३७ लाख ९९ हजार रुपैयाँदेखि ४८ लाख ९९ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
१. महिन्द्रा एक्सयूभीः महिन्द्रा एक्सयूभी ३०० साङयोङको प्ल्याटफर्ममा महिन्द्राले बनाएको सब फोर मिटर एसयूभी हो । यसलाई अग्नी इनकर्पोरेटले यही वर्ष नेपाली बजारमा ल्याएको हो । यसले ग्लोवल एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।


बयस्क र बच्चा दुबैको लागि सर्वाधिक सुरक्षीत भारतीय कम्पनीले बनाएको यो एसयूभीको नेपाली बजारमा सुरुवाति मूल्य ३९ लाख ७५ हजारदेखि ७५ लाख २५ हजार रुपैयाँसम्म रहेको छ ।

