काठमाडौं । सशस्त्र प्रहरीले जेठ २१ गते नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारी साधन फुकुवा गरेको छ ।सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकाबाट नियन्त्रणमा लिएका ती विद्युतीय कार आइतबार साँझदेखि फुकुवा गरेको हो ।
नियन्त्रणमा लिइएका सवारी साधन आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्देशन अनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको जानकारी दिए । ती सवारी साधन फुकुवा भएसँगै गन्तव्यतर्फ प्रस्थान गरिसकेको उनको भनाइ छ ।
कोरला नाका हुँदै भित्रिएका ती सवारी साधन कैफियतको आशंकमा सशस्त्र प्रहरीको नियन्त्रणमा लिएको थियो । अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो । उक्त समितिले ती गाडी आयातमा कुनै कैफियत नभेटेपछि अहिले फुकुवा गरिएको हो ।
बजेट अघि कर बढ्ने हल्ला चुहिएको कारण एकैपटक कोरलाबाट धेरै गाडी आयात भएको आशंका गरिएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले लगत्तै छानबिन समिति गठन गरी अध्ययन थालेको थियो ।
छानबिन समितिको टोलीले गत जेठ २१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरू गरेको थियो । उक्त समितिको प्रारम्भिक प्रतिवेदनले कोरलाबाट भित्रिएका ती विद्युती कारमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।


