काठमाडौं । पछिल्लो समय लगातार इलेक्ट्रीक स्कुटरमा आगो लागेको घटनाहरू बाहिर आइरहेका छन् । यसैबीच, रोयल इनफिल्डमा आगो लागेको घटना बाहिर आएको हो ।
भारतको आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा उक्त घटना घटेको हो । नयाँ मोटरसाइकल खरिद गरेर पूजा गर्न मन्दिर पुगेका रवीचन्द्रको मोटरसाइकलमा आगो लागेको हो । उनले मोटरसाइकलमा ३८७ किलोमिटर यात्रा गरेर पूजा गर्न मन्दिर पुगेको थिए । उनले पार्किङमा मोटरसाइकल पार्क गर्दा गर्दै इन्जिनमा आगो लागेको हो ।
उनका अनुसार मोटरसाइकल इन्जिन धेरै तातेको र पेट्रोल लिक भएर आगो लागेको हो । आगो एकैछिनमा फैलिएको थियो भने मोटरसाइकलको फ्युल ट्याङ विस्फोट भएको थियो । विस्फोटका कारण पार्किङमा भएका अन्य मोटरसाइकलहरूमा समेत आगो लागेको थियो ।
यो घटनामा कुनै मानवीय क्षती भने नभएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । उक्त आगलागीको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा मोटरसाइकलको इन्धन ट्याङ्क विस्फोट भएको देख्न सकिन्छ ।


