हवाई भाडा घट्यो, कुन गन्तव्यको कति ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पुस १८ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले बुधबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सो सँगै क्यानले हवाई भाडामा लाग्ने फ्युल सरचार्ज घटाएको हो । फ्युल सरचार्ज घटेसँगै हवाई भाडा पनि सस्तिएको छ ।

क्यानले सबैभन्दा धेरै काठमाडौं-धनगढी रुटको फ्युल सरचार्ज २६५ रुपैयाँ घटाएको छ । यसअघि ५ हजार ९२० रुपैयाँ रहेको यस रुटको फ्युल सर्चार्ज अब ५ हजार ६५५ रुपैयाँमा झरेको छ ।

त्यसैगरी, माउन्टेन फ्लाइटतर्फ २१० रुपैयाँ, काठमाडौं-भद्रपुर १८० रुपैया, काठमाडौं-विराटनगर १४० रुपैयाँ, काठमाडौं-जनकपुर ७५ रुपैयाँ, काठमाडौं-पोखरा ९५ रुपैयाँ, काठमाडौं-भरतपुर ६५ रुपैयाँ, काठमाडौं-भैरहवा १२५ रुपैयाँ, काठमाडौं-नेपालगञ्ज १९५ रुपैयाँ, काठमाडौं-तुम्लिङटार ११० रुपैयाँ, काठमाडौं-सिमरा ५५ रुपैयाँ सरचार्ज घटाइएको प्राधिकरणले जनाएको छ ।

 


Back_to_top