काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरको लागि नेपाल बलियो बजार हो । जापानी ब्राण्ड होन्डाको नेपालमा सन् २०२५ मा भएको आयात मध्ये डिओ स्कुटरको हिस्सा ८० प्रतिशत देखिएको हो ।
होन्डाले अहिले बिभिन्न ६ मोडलका मोटरसाइकल र स्कुटर नेपालका बिक्री गर्दै आएको छ । कम्पनीले भर्खरै सकिएको सन् २०२५ को डिसेम्बर १५ तारिखसम्ममा मोटरसाइकल र स्कुटर मिलाएर ४३ हजार ७०४ युनिट आयात गरेको हो ।
यहाँ रोचक के छ भने, कुल आयातमा ८० प्रतिशतभन्दा धेरै ३५ हजार ११७ युनिट डिओ स्कुटर आयात भएको देखिन्छ । सन् २०२५ मा स्याकार ट्रेडिङले नेपालमा आयात गरेको होण्डा डिओ ११०/१२५ सीसी सेग्मेन्टमा उपलब्ध छ ।
त्यस्तै, युनिट एक्टिभा १२५ स्कुटर पनि १ युनिट आयात भएको देखिन्छ । स्कुटरमा निकै बलियो देखिएको होण्डा मोटरसाइकल सेग्मेन्टमा भने कमजोर बन्दै गएको छ ।
होन्डाले अहिले सीआरएफ, साइन १२५, एसपी १२५, एक्सआर १९० र एनएक्स जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ । सबै मोटरसाइकल मोडल मिलाउँदा कम्पनीले कुल ८ हजार ५८६ युनिट मात्रै एक वर्षको अवधिमा आयात गरेको हो ।

मोटरसाइकलतर्फ सबैभन्दा धेरै आयात एसपी १२५ भएको देखिन्छ । कम्पनीले एसपी १२५ मोटरसाइकल ५ हजार ७५८ युनिट आयात गरेको हो । साइन १२५ मोटरसाइकल भने १ हजार ८४० युनिट मात्रै आयात भएको छ ।
त्यसैगरी स्काकार ट्रेडिङले एक्सआर १९० मोटरसाइकल ८५४ युनिट, एनएक्स १२० युनिट, सीआरएफ १२ युनिट र १२५ सीसीको मोपेड २ युनिट आयात गरेको हो ।
नेपालमा फ्यामिली मोटरसाइकलको रूपमा निकै परिचित मोटरसाइकल युनिकर्न, एक्सब्लेस, हर्नेट जस्ता मोटरसाइकलको आयात शून्य छ । मिड साइज सेग्मेन्टमा आउने होन्डा सीबी ३५० सिरिजका मोटरसाइकलको पनि आयात ठप्प छ । यसलाई मोटरसाइकल सेग्मेन्टमा होन्डाको बेहाल नै मान्न सकिन्छ ।

