काठमाडौं । चितवनको भरतपुरमा देशकै सबैभन्दा लामो महानगरस्तरीय चक्रपथ संचालनमा ल्याइएको छ ।भरतपुर महानगरपालिकाका विभिन्न वडा जोड्ने बृहत् चक्रपथ नेसनल हाइवे (एनएच-७७) मंगलबार एक कार्यक्रम बीच उद्घाटन गरिएको हो ।
महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर-९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरेका हुन् ।
महानगरले गौरवको आयोजनाका रूपमा अघि बढाएको ८८.६ किलोमिटर लामो चक्रपथ डेढ अर्ब रुपैयाँ बढी लागतमा निर्माण गरिएको हो । यो चक्रपथ ७ वर्षमा निर्माण गरिएको हो । अलाइनमेन्ट विवाद रहेका स्थान बाहेक अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।
महानगरले यसअघि निर्माण गरेको चक्रपथ नारायणगढको पुलचोकबाट नारायणी नदीतर्फ गोलाघाटसम्म पुग्छ । आजदेखि संचालनमा ल्याइएको चक्रपथ गोन्द्राङबाट जङ्गलको किनारैकिनार पटिहानी-जगतपुर हुँदै पुनः गोलाघाटमै जोडिन्छ ।
चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ-मुग्लिन सडक, बाइपास सडक र प्रचण्डमार्गलाई समेत ठाउँठाउँमा जोडेको छ ।
उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकास कार्य भएको बताइन् । ‘महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ,’ उनले भनिन् ।
केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उनको भनाइ छ । आगामी दिनमा यस सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रतिबद्धता गरिन् ।

