यामाहाको पहिलो इलेक्ट्रीक स्कुटरको उत्पादन सुरू

काठमाडौं । यामाहाले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर ईसी ०६ को उत्पादन सुरू गरेको छ । कम्पनीले करिब दुई महिना अघि भारतीय बजारमा सार्वजनिक गरेको ईसी ०६ को ‘मास प्रोडस्कन’ सुरू गरेको हो ।

कम्पनीले दुईपाँग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी रिभरको कर्नाटकको होस्कोटस्थित प्लाण्टबाट ईसी ०६ को उत्पादन सुरू गरेको हो । यामाहा र रिभर इन्डिया बीच यसअघि नै इलेक्ट्रीक स्कुटर उत्पादन सम्झौता भइसकेको छ ।

यामाहाले ईसी ०६ लाई रिभर इन्डीको स्कुटर प्लेटफर्ममै तयार पारेको छ । तर, यस स्कुटरको डिजाइन भने फरक रहेको छ । ईसी ०६ मा प्रयोग गरिएको धेरैजसो मेकानिकल पार्टपुर्जा र अन्य फिचरहरू पनि रिभर इन्डी स्कुटरबाटै लिइएको छ ।

ईसी ६ मा ४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसमा ६.७ किलोवाटको मिड माउन्टेड मोटर छ । यामाहाको यस ई स्कुटरले एकपटकको फुलचार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ भने यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो भारतमा यामाहाको पहिलो इलेक्ट्रीक दुईपाँग्रे साधन भएकाले बजारमा चाँडै उपलब्ध हुने अनुमान गरिएको छ । यसको उत्पादन रिभरले गरे तापनि यसको बिक्री र सर्भिसिङ भने यामाहाको डिलर नेटवर्क मार्फत नै हुनेछ।

सम्भवतः कम्पनीले यो स्कुटर सन् २०२६ पहिलो त्रैमास भित्रै बजारमा ल्याउने छ । यामाहाका पेट्रोल स्कुटर नेपाली बजारमा बिक्री भइरहेकाले इलेक्ट्रीक आउने सम्भावना देखिन्छ ।


Back_to_top