काठमाडौं । नेपाल र भारत बीचकाे पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएको छ । क्षेत्रीय व्यापारलाई बढावा दिन बिहीबार नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले सन्धिको प्रोटोकलमा संशोधन गर्ने लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन् ।
यससँगै अब भारतको जोगबनी र नेपालको विराटनगर बीचको रेलमार्गमा सबै किसिमका कार्गो ढुवानी गर्न पाइने भएको छ । यस रेलमार्गबाट यसअघि रासायनिक मल, कोइला, सिमेन्ट र क्लिंकर गरी चार किसिमका बल्क कार्गो मात्र ल्याउन पाइन्थ्यो ।
त्यस्तै, यो सुविधा कोलकाता-जोगबनी, कोलकाता-नौतनवा (सुनौली) र विशाखापट्टनम-नौतनवा जस्ता मुख्य पारवहन करिडोरहरूमा पनि विस्तार गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।
नयाँ सम्झौतासँगै उदारीकरणले गर्दा नेपालको पारवहन लागत र समयमा कमी आई व्यापार सहजीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
भेटमा दुई मन्त्रीहरूले द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ। मन्त्री अनिल सिन्हाले व्यापार र पारवहन सहजीकरणका लागि ब्युरो अफ इन्डियन स्टान्डर्ड प्रमाणीकरण प्रक्रियालाई सरल बनाउन र छलफलको क्रममा रहेका विषयहरूलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए।
भारतका मन्त्री गोयलले भारतले नेपाललाई विशेष प्राथमिकता दिएको उल्लेख गरे । उनले छलफलमा रहेका तथा सम्बोधन गर्न बाँकी अन्य विषयलाई यथाशीघ्र टुङ्गोमा र्पुयाउन जरुरी रहेकोतर्फ दुवै देशका सम्बद्ध पदाधिकारीहरूलाई ध्यानाकर्षण गराएको उल्लेख छ।

