काठमाडौं । अटो मोबाइलको क्षेत्रमा संसारकै चौथो ठूलो बजारको रुपमा विकास भईरहेको भारतीय बजार निकै प्रतिस्पर्धी रहेको छ । विश्वमा चर्चित अटो निर्माता कम्पनीहरूले विभिन्न सेलिब्रेटीलार्इ ब्रान्ड एम्बेस्डर बनाउने चलन रहिआएको छ । आफ्नो ब्रान्ड तथा कम्पनीको प्रतिष्ठा बढाउने उद्देश्यसहित संसारका चर्चित कम्पनीले प्रख्यात अभिनेता तथा खेलाडीहरूलाई ब्रान्ड एम्बेस्डर बनाएका छन् । भारतमा पनि केहि चर्चित ब्राण्डले आफ्नो प्रमोशनका लागि बलिउड अभिनेता देखि क्रिकेट खेलाडि सम्मलाई आफ्नो ब्राण्ड एम्बेस्डर बनाएका छन् ।
शाहरुख खानः हुन्डाई

बलिउडका चर्चित अभिनेता शाहरुख खान र दक्षिण कोरियाको अटो निर्माता कम्पनीका बीच निकै लामो सम्बन्ध रहेको छ । बलिउडका मेगा स्टार शाहरुख खान सन् १९९८ मा हुन्डाई स्यान्ट्रोको विज्ञापनमा पहिलो पटक देखिएका थिए । त्यसको बिस वर्षपछि पनि शाहरुख खान हुन्डाई कम्पनीको ब्रान्ड एम्बेस्डर रहँदै आएका छन् । साथै, कम्पनीद्वारा उत्पादित विभिन्न मोडल तथा ब्रान्डलाई समर्थन गर्र आएका छन् । किङ्ग खानले व्यक्तिगतरुपमा भारतीय बजारमा हुन्डार्इका विभिन्न मोडल सार्वजनिक गर्दैआएका छन् । उनले २०१८ को अटो एक्स्पोमा पनि इलाइट आई–२० सार्वजनिक गरेका थिए ।
ऋतिक रोशनः टाटा टिगोर

त्यस्तै अग्रेसीभ रुपमा मार्केट अपग्रेड गरिरहेको भारतको प्रतिष्ठित अटो कम्पनी टाटा मोटर्सले बलिउडका अर्का चर्चित अभिनेता ऋतिक रोशनलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । कम्पनीले हालै ऋतिकलाई टाटा टिगोर फेसलिफ्टको ब्रान्ड एम्बेस्डरको घोषणा गरेको हो । उनी अटोमोबाइल क्षेत्रमा पहिलोपटक प्रवेश गरेका भने होइनन् । यसपूर्व पनि ऋतिक हिरो होन्डाको करिज्मा मोटरसाईकलको ब्रान्ड एम्बेस्डर बनेका थिए ।
रनवीर सिंहः मारुती सुजुकी सियाज

कारप्रेमी रनवीर सिंहको ग्यारेजमा नयाँ पुराना कारको ठूलो सङ्कलन रहेको छ । उनलाई अटो कम्पनी मारुती सुजुकीले अाफ्नाे मोडल सियाजको ब्रान्ड एम्बेस्डर बनाएको छ । सुरुवातमा उनले मिड–सियाज सेडानको प्रमोट गरेका थिए । साथै, उनले भर्खरमात्रै सार्वजनिक भएको सियाजको फेसलिफ्ट भर्सनको पनि प्रमोशन गरेका छन् । रनवीरलाई कम्पनीले सियाजको प्रि–फेसलिफ्ट भर्सन उपहारस्वरुप प्रदान गरेको थियो ।
अमिर खानः ड्याट्सन–गो, गो–प्लस

बलिउडका अर्का स्टार अभिनेता अामिर खानले आउँदै गरेको ड्याट्सन–गो र गो–प्लसको प्रमोशन गर्ने भएका छन् । फेसलिफ्ट भर्सनमा उपलब्ध यी मोडल भारतीय बजारमा सार्वजनिक हुने तयारीमा छन् । जापानको स्थापित अटाे कम्पनी ड्याट्सनले अमिरलाई युवापुस्तामाझ ब्रान्डलाई स्थापीत गराउन आग्रह गरेको छ ।
बरुणधवनः महिन्द्रा केयूभी–१००

भारतका राइजिङ्ग स्टारका रुपमा परिचित बरुण धवन पछिल्लो समय निकै चर्चामा छन् । एसयूभी प्रेमी बरुणले पनि महिन्द्राको केयूभी–१०० को बजार प्रमोशन गरिरहेका छन् । उनले यो मोडलको विज्ञापन प्रकाशित भएसँगै केयूभी–१०० उपहारस्वरुप पाएका थिए ।
बिराट कोहलीः आउडी

भारतका चर्चित क्रिकेट खेलाडी बिराट कोहली जर्मनी अटो कम्पनी आउडीका ब्रान्ड एम्बेस्डर हुन् । भारतीय बजारमा आउडीको सबै प्रचार–प्रसारको प्रक्रिया कोहलीसँग जोडिने गर्छ । भारतीय बजारमा सार्वजनिक भएका सबै मोडलको लञ्चिङ्ग इभेन्टमा उनको सहभागिता रहने गर्छ ।
सचिन तेन्दुलकारः बीएमडब्ल्यू

भारतकै स्टार क्रिकेटर सचिन तेन्दुलकार जर्मन अटो कम्पनी बीएमडब्ल्यूको प्रमोट गर्दैआएका छन् । उनले बीएमडब्ल्यूको थुप्रै विज्ञापनमा अभिनय गरिसकेका छन् । सचिनसँग बीएमडब्ल्यू आई–८ देखि एम–थ्री, एम–फाइभ, एक्स–६ जस्ता मोडल उपलब्ध छन् ।
जोन अम्ब्राहमः निशान इन्डिया

त्यस्तै, बलिउडका अर्का अभिनेता जोन अब्राहमले निशान इन्डियाको प्रोमोशन गर्दै आएका छन् । उनको ग्यारेजमा निकै महङ्गा कारको सङ्ग्रह नै छ । निशान इन्डियाको विभिन्न विज्ञापनमा छाएका उनले टेरानो प्रचारमा विशेष भूमिका निभाएका थिए । अम्ब्राहमले भारतमा निशानको सबैभन्दा महङ्गो ब्रान्डको रुपमा टेरानोको प्रचार गरेका थिए ।
रनवीर कपुरः रेनोल्ट

बडिउडका चकलेटी हिरो रनवीर कपुर रेनो कम्पनीका ब्रान्ड एम्बेस्डर हुन् । उनले रेनोको चर्चित ब्रान्ड–क्वीड, क्याप्चर लगायतको प्रचार गरेका थिए ।

