काठमाडौं । बेलायती अटोमोबाइल कम्पनी जेएलआरले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘बेबी डिफेन्डर’ को उत्पादन सन् २०२७ देखि सुरू गर्ने भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पीबी बालाजीले बेलायतको मर्सीसाइडस्थित हेलवुड प्लाण्टबाट नयाँ विद्युतीय एसयूभीको उत्पादन सुरू हुने पुष्टि गरेका हुन् ।
जेएलआरको दोस्रो त्रैमासिक वित्तीय नतिजा सम्बन्धी छलफलका क्रममा पत्रकारहरूसँग कुरा गर्दै बालाजीले सन् २०२७ देखि उत्पादन सुरू हुने जानकारी दिएका हुन् ।
कम्पनीले नयाँ मोडलको औपचारिक नाम भने सार्वजनिक गरेको छैन । यो एसयूभी सन् २०२६ को अन्त्यसम्ममा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।
डिफेन्डर रेन्जमा नयाँ मोडल
नयाँ बेबी डिफेन्डर हाल बजारमा उपलब्ध डिफेन्डर ९०, ११० र १३० भन्दा सानो आकारको हुनेछ । यसको नाम ‘डिफेन्डर स्पोर्ट इलेक्ट्रीक’ वा ‘डिफेन्डर ८०’ हुन सक्ने चर्चा छ । यद्यपि, कम्पनीले नाम निश्चित गरिसकेको छैन ।
यो मोडल जेएलआरको नयाँ हाउस अफ ब्राण्डस् रणनीति अन्तर्गत डिफेन्डरलाई छुट्टै ब्रान्ड बनाएपछि आउने पहिलो पूर्ण नयाँ मोडल हुनेछ ।
बेबी डिफेन्डर जेएलआरकै इलेक्ट्रीक मोड्युलर आर्किटेक्चर (ईएमए) प्लेटफर्ममा आधारित हुनेछ । यही प्लेटफर्ममा आगामी रेन्ज रोभर इलेक्ट्रीक जीटी पनि निर्माण गरिने छ । नयाँ एसयूभीको लम्बाइ ४.५ मिटरभन्दा केही बढी हुने र यसमा फोर ह्वील ड्राइभ सिस्टम उपलब्ध हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यसको मोटर, ब्याट्री क्षमता र रेन्जसम्बन्धी विवरण भने सार्वजनिक गरेको छैन ।
हाइब्रिड भर्सन पनि आउने
जेएलआरले बेबी डिफेन्डरको हाइब्रिड भर्सन ल्याउने तयारी गरिरहेको जनाएको छ । सीईओ बालाजीका अनुसार यसको काम पूर्ण रूपमा अगाडि बढिरहेको छ । तर, विद्युतीय भर्सनभन्दा केही पश्चात बजारमा आउने छ ।
डिफेन्डर र डिस्कभरी ब्राण्डका प्रबन्ध निर्देशक मार्क क्यामरुनले नयाँ मोडलमा डिफेन्डरको पहिचान बनेको अफरोड क्षमता कायम रहने बताएका छन् । यद्यपि, विद्युतीय प्लेटफर्म र गाडीको तल्लो भागमा राखिने ब्याट्रीका कारण हालका डिफेन्डर मोडलको तुलनामा ह्वील ट्राभल र सस्पेन्सन आर्टिकुलेसन केही सीमित हुन सक्नेछ ।
रेन्ज रोभर लाइनअपमा पनि परिवर्तन
जेएलआरले सन् २०२७ देखि नयाँ रेन्ज रोभर जीटीको उत्पादन पनि सुरू गर्ने जनाएको छ । हेलवुड प्लाण्टमा हाल रेन्ज रोभर इभोक र डिस्कभरी स्पोर्ट उत्पादन हुँदै आएका छन् ।
नयाँ रेन्ज रोभर जीटीले डिस्कभरी स्पोर्टको स्थान लिनेछ भने इभोकलाई पनि सन् २०२७ को पछिल्लो समयसम्म उत्पादनबाट हटाउने कम्पनीको तयारी छ । यसका साथै रेन्ज रोभर भेलारलाई समेत बन्द गर्ने योजना बनाएको छ ।
यसरी जेएलआरले आगामी वर्षदेखि आफ्नो लक्जरी एसयूभी लाइनअपलाई विद्युतीय प्रविधिमा केन्द्रित गर्दै नयाँ पुस्ताका मोडलमार्फत बजार विस्तार गर्ने रणनीति अघि बढाएको हो ।

