काठमाडौं । एक वर्ष अगाडिदेखि नेपाली बजारमा बिक्री वितरण हुँदै आएको बेनलिङका इलेक्ट्रीक स्कुटरहरु क्यान इन्फोटेक २०१९ मा प्रदर्शन गरिएका छन् ।
चिनियाँ कम्पनी एनआईयूका उत्पादन जस्तै देखिने बेनलिङको ‘थ्रीडीएमए ००२’ मोडल एनआईयूको तुलनामा निकै सस्ता रहेका छन् । यसो हुनुमा मुख्यतया यसमा दिइएको लिड एसिड ब्याट्री हो ।
सरकारी कुनैपनि परीक्षण नगरी बेचिएका यस्ता स्कुटर बजारमा थुप्रै ब्रान्डको रहेको पाईन्छ । उनिहरुले यसलाई दर्ता प्रक्रियामा समेत लगेका छैनन् ।
‘हामीले यातायातमा दर्ता प्रकृया सुरु गरेका छौं । चाँडै नै हाम्रा स्कुटरमा नम्बर प्लेट लाग्ने छन्’ निजोङ इन्डष्ट्रीजका फ्याट्री हेड शिबहरि आचार्यले मेरोअटोसँग भने ।
यातायात व्यवस्था विभागले स्कुटरको क्षमता परिक्षण पछि पास भएका स्कुटरलाई दर्ता नम्बर उपलब्ध गराउँदै आएको भएपनि बेनलिङका उत्पादनले अहिलेसम्म परीक्षणमा सहभागिता जनाएको छैन ।
यस्तो छ स्कुटर
१५ सय वाटको मोटर प्रयोग गरिएको यस स्कुटरमा ३२ एम्पाएरको लिड एसीड व्याट्री दिइएको छ । जसलाई घरको साधारण बत्तीमा चार्जगर्न करिब ६ घन्टा लाग्ने छ भने, एक पटकको फुलचार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।
यो स्कुटरको टप स्पीड ७० किलोमिटर प्रतिघन्टा रहेको निजोङ्ग इन्डष्ट्रीज प्रालिले दाबी गरेको छ ।
अत्याधुनिक एलइडी डिस्प्ले, डिस्क ब्रेकसहितको सुरक्षा फिचर रहेको स्कुटरलाई यातायात व्यवस्था विभागले इलेक्ट्रीक बाइक तथा स्कुटरको परिक्षण गरि नम्बर प्लेट उपलब्ध गराउदै आएको छ ।
यो स्कुटर नेपाली बजारमा पार्टसहरु ल्याएर एसेम्बल गरिदै आएको कम्पनीले जनाएको छ ।
मूल्य
नेपाली बजारमा यो स्कुटरको मूल्य १ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । मूल्यका हिसावले निकै सस्ता यी स्कुटर प्राविधीक परीक्षण भने भएका छैनन् ।

