महंगा मोटरसाइकल नेपाल आउने क्रम तिब्र, नेपालमा पनि बन्दै

काठमाडौं । नेपाली बजारमा ‘विग बाइक’ आउने क्रम बढ्दै गएको छ । पछिल्ला दिनमा विभिन्न कम्पनीका नयाँ नयाँ ठूला बाइक नेपाल आइरहेका छन् ।

होन्डा, यामाहा, एमभी अगस्टा र नेपालमा नै यात्री कम्पनीले उत्पादन गरिरहेको नयाँ मोडल ‘पी-०’ विग बाइक सेग्मेन्टमा आउन लागेको मोटरसाइकल हो ।

यामाहाले ४ नयाँ मोडलका मोटरसाइकल तथा स्कुटर नेपाल ल्याएको छ भने, एमभी अगष्टाले पनि ४ नयाँ मोडल नेपाल ल्याएको छ । त्यस्तै होन्डाले पनि एउटा नयाँ मोडल केहि समयअघि नेपाल ल्याएर विक्री सुरु गरेको छ ।

एमभी अगष्टाको आधिकारीक वितरक भेलोसिटी प्रालिले बजारमा एमभी अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले ब्रुटाले ८०० आरआर, ड्रयागेष्टर ८०० आरआर पिरेली एडिशन, टुरिज्मो भेल्भो ८०० र ड्रयागेष्टर ८०० आरआर अमेरीका एडिशन नेपाल ल्याएको हो । एमभी अगस्टाले नेपाल ल्याएको यी मोटरसाइकलको मूल्य ४८ लाख ९० हजारदेखि ५९ लाख ९० हजार रुपैयाँसम्म तोकेर विक्री सुरु भएको छ ।

यामाहाको आधिकारीक वितरक एमएडब्ल्यु प्रालीले विग बाइक सेग्मेन्टमा यामाहा आर ६, टी म्याक्स ५६०, एमटी ०९ र बोल्ट नेपाल भित्र्याएको हो । कम्पनीले ल्याएको यी मोटरसाइकलको मूल्य ३४ लाख ९९ हजार रुपैयाँदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म कायम गरिएको छ ।

त्यस्तै होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ कम्पनीले चाडपर्वको अवसर पारेर नयाँ सिबिआर ६०० आरआर नेपाल ल्याएको थियो । नयाँ सिबिआर ६०० आरआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै आगामि अप्रिलमा नेपाली बजारमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक हुने भएको छ । नेपाली युवाहरुले तयार पारेको इलेक्ट्रीक मोटरसाइकल यात्रीे ‘पी-०’को प्रोटोटाइपमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ । यो अहिले बजारमा रहेका अन्य इलेक्ट्रीक मोटरसाइकलको तुलनामा निकै पावरफुल रहने छ । यसमा दिइएको मोटरले ६४ बीएच पावर र ६५० एनएम टर्क प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

‘पी-०’ मोडलको टप स्पीड क्षमता २०० किलोमिटर प्रतिघण्टा रहेको छ भने सून्यदेखि ६० किलोमिटरको स्पीड भेट्टाउन २.५ सेकेन्ड मात्र लगाउने कम्पनीको दाबी छ । यो मोटरसाइकल एक पटकको फुल चार्जमा २३० किलोमिटर चलाउन सकिन्छ । यसको मूल्य १५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top