भारतमा लकडाउन खुकुलो भएसँगै मोटरसाइकलको मूल्य बढ्यो, नेपालमा कस्तो असर

काठमाडौं । लकडाउनमा केही खुकुलो भएसँगै खुलेका भारतीय मोटरसाइकल उत्पादक कम्पनीले मोटरसाइकलको मूल्य धमाधम बढाउन थालेका छन् । कम्पनीहरुले लागत बढेको भन्दै मूल्य बढाएका हुन् ।

यसरी मूल्य बढाउनेमा हिरो, बजाज, होन्डा, यामाहा, रोयल इन्फिल्ड लगायतका कम्पनी रहेका छन् ।

रोयल इन्फिल्डले आफ्ना उत्पादनमा २७ सय भारतीय रुपैयाँ भन्दा बढीले मूल्य वृद्धि गरेको छ । अन्य कम्पनीहरुले भारतमा १५ सयदेखि ३ हजार भारुसम्म मूल्य बढाएका छन् ।

नेपालमा कस्तो असर
भारतीय बजारमा मोटरसाइकलको मूल्य वृद्धि हुँदा नेपालमा तत्कालै मूल्य बढ्ने भन्ने हुँदैन । नेपाल आउने मोटरसाइकल तथा स्कुटर डिलर मूल्यमा आउने हुँदा कति मूल्य बढ्छ भन्ने एकिन गर्न सकिदैन । केही कम्पनीले निर्यातमा यस्तो मूल्य नबढाउने पनि हुन्छ ।

यदि भारतीय रिटेलमा बढेको मूल्य अनुसार नै नेपालमा पनि यी कम्पनीको मूल्य बढ्ने हो भने करिब ५ हजारदेखि ८ हजारसम्म मूल्य बढ्न सक्छ । तर, नेपालमा अहिले बिक्री भइरहेका मोटरसाइकल तथा स्कुटरहरु बीएस ४ मापदण्ड अनुसारका रहेका छन् । यस्तोमा नेपालमा मोटरसाइकलको तत्काल मूल्य बढ्ने छैन ।


Back_to_top