रेनोको नयाँ एसयूभी ‘किगर’, कम मूल्यले ग्राहक तान्ने दाउ

रेनोले पहिलो सब फोर मिटर एसयूभी ल्याउने भएको छ । कम्पनीले आगामी दिपावलीको समयसम्ममा भारतीय बजारबाट बिक्री सुरु गर्ने भएको हो ।

कम्पनीले ‘एचबीसी’ कोड नेममा उत्पादन गरिरहेको यो ४ मिटरभन्दा छोटो एसयूभी निसान–रेनो–मित्सुवीसीको सिएमएफ–ए प्लस प्ल्याटफर्ममा उत्पादन गर्ने भएको हो । कम्पनीले यही प्ल्याटफर्ममा रेनो ट्राइबरलाई बजारमा ल्याएको हो । यसको नाम कम्पनीले किगर राख्ने भएको छ ।

निकै सानो इन्जिनमा आउने एमबीसीमा १.० लिटर रेगुलर इन्जिन र १.० लिटर टर्बो चार्ज्ड इन्जिनमा उपलब्ध रहेने छ । रेनो ट्राइबरमा रहेको थ्री सिलिण्डर बिआर–१० पेट्रोल इन्जिनले अधिकतम ७२ बीएच पावर र ९६ एनएम टर्क प्रदान गर्छ भने नयाँ १.० लिटर थ्री सिलिण्डर एचआर १० इन्जिनले अधिकतम ९५ बीएच पावर प्रदान गर्नेछ ।

नयाँ इन्जिनको विषयमा रेनोले केही जानकारी बाहिर ल्याएको छैन । यसमा म्यानुयल वा अटोमेटिक कुन गियरबक्स रहने छ भन्ने अहिले एकिन गर्न सकिदैन ।

यो सेग्मेन्टमा फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू र महिन्द्रा एक्सयूभी जस्ता मोडल बीच प्रतिस्पर्धा हुने छ । नेपालमा सबैभन्दा कम मूल्यमा उपलब्ध टाटा नेक्सन र हुन्डाई भेन्यूको तुलनामा यसको मूल्य केही कम हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा एडभान्स अटोमोवाइलले रेनोका उत्पादनहरु बिक्री वितरण हुँदै आएको छ । कम्पनीले रेनो क्विड, रेनो डस्टर, रेनो क्याप्चर र रेनो ट्राइबरको बिक्री वितरण गर्दै आएको छ । यस्तोमा रेनोको नयाँ एसयूभी नेपाल आउने पक्का रहेको छ ।


Back_to_top