युवा तान्दै यामाहा एमटी-१५, मूल्यलाई ‘प्रिमियमनेस’ले जित्छ

काठमाडौं । यामाहाको ग्लोवल मोडलको रुपमा आएको एमटी-१५ नेपाली बजारमा गत साउनको अन्तिममा सार्वजनिक भएको थियो । एमएडब्लू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको प्रिमियम मोडल एमटी १५ को बिक्रीमा कम्पनी निकै उत्साहीत रहेको छ ।

नेपाली बजारमा आएको एमटी-१५ अहिलेसम्म २००० यूनिटभन्दा बढी बिक्री भइसकेको कम्पनी स्रोतले बताएको छ । १५० सीसी क्षमताको इन्जिन र यामाहाको प्रिमियम उत्पादन भएकाले यसको मूल्य अन्य १५० सीसी क्षमताको मोटरसाइकलको तुलनामा महंगो रहेको छ ।

‘मूल्य महंगो भएपनि एमटी प्रतिको आकर्षण निकै राम्रो छ । अहिलेसम्म हामीले बेचेको एमटी १५ मा कुनै किसिमको समस्या देखिएको छैन । यसले युवावर्गलाई अझै तान्ने हामीले विस्वास लिएका छौं’, एमएडब्ल्यू इन्टरप्राइजेजका यामाहा मोटरसाइकलका सेल्स एण्ड मार्केटिङ हेड बिक्रम पौडेलले भने ।

पौडेलका अनुसार यो मोटरसाइकल रेगुलर अन्य १५० सीसी क्षमताको मोडलको तुलनामा महंगो भएकै कारण धेरै संख्यामा बिक्री हुन नसकेको हो । ‘जसरी अन्य १५० सीसीका मोटरसाइकल बिक्छन् त्यसैगरि यो मोडल बिक्री हुँदैन तर जसले चढी रहेका छन् ती ग्राहक सबै सन्तुष्ट रहेको पाएका छौं’, पौडेलले भने ।

यस्तो छ मोटरसाइकल

यामाहा एमटी-१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ । जुन एमटी ०९ बाट प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ ।

नयाँ एमटी-१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ ।

यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । एमटी-१५ मा सिंगल च्यानल एबीएस रहेको छ ।

आर-१५ भी-३ को समान इन्जिन यसमा राखिएको छ, जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ एमटी-१५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ भने वजन (फुल ट्यांक पेट्रोलसहित) १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ ।

त्यसैगरी, पछाडिको पांग्राबाट आउने ड्राइभ फोर्स च्यासिसमा पर्छ जसले बाइकलाई भर्टिकल्ली, होरिजेन्टल्ली र टर्सनल्ली रिजिड बनाइदिन्छ ।

डार्क थिमसहितको आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् ।

डार्क ब्ल्याक र ब्लू कलरमा रहेको याहामा एमटी १५ को मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top