पहिलेभन्दा कम मूल्यमा आयो मारुती सुजुकी भिटारा ब्रेजा

काठमाडौं । मारुती सुजुकीले आफ्नो चर्चित सब फोर मिटर एसयूभी भिटारा ब्रेजाको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ ब्रेजाको सुरुवाति भेरियन्ट पुरानो तुलनामा ४० हजार भारतीय रुपैयाँ सस्तो रहेको छ ।

पेट्रोल इन्जिनमा आएको ब्रेजाको सुरुवाति मूल्य ७ लाख ३४ हजार भारु तोकिएको छ भने यसको टप भेरियन्ट जेडएक्सआई प्लस (डियूलटोन) अटोमेटिक भेरियन्टको मूल्य ११ लाख ४० हजार भारु तोकिएको छ ।

मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी ब्रेजाको फेसलिफ्ट मोडल विभिन्न नौ भेरियन्टमा बजारमा आएको छ । जसमा एलएक्सआई, भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि ५ भेरियन्ट म्यानुयलमा र भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि तीन अटोमेटिक भेरियन्टमा उपलब्ध रहेको छ ।

ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले जनाए अनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।

अगाडिको भागमा केही परिमार्जन सहित आएको ब्रेजामा रि-डिजाईन हेडल्याम्प र एलइडी डेटाइम रनिङ लाईट प्रदान गरिएको छ । यसको टप भेरियन्टमा ग्रिलमा क्रोमको प्रयोगले गाडी निकै आकर्षक देखिएको छ । यसले गाडीलाई पहिलेको तुलनामा निकै सार्प र स्पोर्टी देखाएको छ ।

अबको केही महिना भित्र पेट्रोल इन्जिनयुक्त भिटारा ब्रेजा नेपाली बजारमा पनि उपलब्ध रहने छ ।


Back_to_top