अब काठमाडौंका लोकल बसमा पनि टिकट अनिवार्य

काठमाडौं । लोकल बसमा पनि टिकट अनिवार्य भन्दा अचम्म लाग्न सक्छ । लामो दूरिमा मात्र टिकट काटेर हिँड्ने हामी लोकल बसमा टिकट काट्नु पर्छ भन्ने ठान्दैनौं । तर अब काठमाडौं महानगरपालिकाले उपत्यकामा चल्ने सबै सार्वजनिक यातायातले टिकट अनिवार्य गर्नु पर्ने व्यवस्था गरेको छ । 

उपत्यकामा चल्ने लोकल सार्वजनिक सवारीसाधनमा यात्रु टिकट अनिवार्य दिनु पर्ने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन नै बनाएर सार्वजनिक यातायात सञ्चालनमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको हो । 

हाल साझा यातायातलगायत केही लोकल बस सञ्चालकले मात्र टिकट दिँदै आएका छन् । कागजी टिकट प्रयोग गरिरहेकाहरुले पनि अब विस्तारै विद्युतीय टिकले विस्थापित गर्दै लग्नु पर्नेछ । 

महानगरले प्रविधिमत्रै बनाउने उद्देश्य अनुरुप टिकटलाई पनि विद्युतीय बनाउने लैजाने योजना बनाएको छ । काठमाडौं महानगरपालिकाले बनाएको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक, २०७५’ मा सेवा प्रदायकले गाडी चढ्नु अघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिइ अनिवार्य टिकट दिनुपर्ने प्रावधान रहेको छ । 

विद्युतीय टिकट रहेको खण्डमा ई–टिकेटिङ लगायतका प्रविधिबाट अग्रिम टिकट खरिद गर्न पाउने व्यवस्था सेवा प्रदायकले मिलाउनु पर्ने छ । अब भने बस,माईक्रो, टेप्पो, ट्याक्सीले टिकटको प्रवन्ध गर्नुपर्नेछ । यात्रु टिकटको आकार प्रकार तथा टिकटमा उल्लेख गर्नुपर्ने जस्ता विषय महानगरपालिकाले तोक्नेछ ।

यात्रु टिकटमा धुम्रपान, मद्यपान, सूर्तिजन्य तथा सार्वजनिक हित बिपरितका वस्तुको विज्ञापन गर्न पाइने छैन । यात्रुले पनि अब काठमाडौं महानगरपालिकाभित्र गाडीमा यात्रा गर्न आफूले चढ्ने स्टपमा वा सवारी साधन चढेलगत्तै तोकिएको भाडा तिरेर टिकट लिनुपर्नेछ ।

सेवा प्रदायकले बालबालकिा, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहिद परिवारका सदस्य, विद्यार्थीलगायत व्यक्तिलाई तोकिएबमोजिम भाडामा छुट दिएर टिकट उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । 


Back_to_top