काठमाडौं । बीवाइडीले आफ्नो सबैभन्दा सस्तो कारमा पनि आधुनिक प्रविधि लाइडार सेन्सर उपलब्ध गराएको छ । बीवाइडीले आफ्नो महँगा ब्राण्ड डेन्जा र याङवाङमा प्रयोग गर्ने उक्त प्रविधि एटो वान (सिगल)मा पनि प्रयोग गरेको हो ।
कम्पनीले २०२६ मोडल एटो वानमा लाइडर जडान गरेको हो । अहिले उक्त कार चीनको विभिन्न सडकमा परीक्षण भइरहेको छ । सार्वजनिक तस्बिर अनुसार एटो वानको छतमा लाइडार जडान गरिएको छ ।
परीक्षणको क्रममा रहेको एटो वानमा देखिएको लाइडार सम्भवतः गड्स अइ बी (डी पाइलट ३००) प्रणालीसँग जोडिएको छ। यसले गाडीलाई साधारण क्यामेरा आधारित प्रणालीबाट हटाएर उच्च स्तरको एडासतर्फ लैजान्छ ।
यो प्रणाली एनभिडिया ड्राइभ ओरिन चिपद्वारा चल्छ । जसको कम्प्युटिङ क्षमता २५४ टीओपीएस छ ।
बीवाइडीले एटो वानको नयाँ मोडलमा मोटर पावर र रेन्ज समेत बढाएको छ । कम्पनीले एटो वानमा मोटर क्षमता ५५ किलोवाटबाट बढाएर ६० किलोबाट पुर्याएको छ ।

त्यस्तै, २०२६ एटो वानले एकपटकको फुलचार्जमा ५०५ किमी रेन्ज दिने कम्पनीको दाबी छ । यो हालकोभन्दा झण्डै ११० किमी धेरै हो ।
एटो वानको साइज भने पहिलाको जस्तै छ । सस्तो गाडीको बजारमा प्रतिस्पर्धा बढ्दै गएको कारण बीवाइडीले लाइडार प्रयोग गर्ने निर्णय गरेको हो ।
बीवाइडीले रोबोसेन्ससँगको साझेदारीमार्फत लाइडारलाई ऐच्छिक सुविधाको रूपमा बजारमा ल्याउने योजना बनाएको छ । कम्पनीले लगभग १० हजार युआन (करिब १,४५५ अमेरिकी डलर)मा लाइडार सुविधा उपलब्ध गराउने योजना छ ।
हाल नेपाली बजारमा पनि एटो वान हटकेक मोडल बनिरहेको छ । गत भदौमा नेपाली बजारमा भित्रिएको एटो वान छोटो समयमै लोकप्रिय बनेको छ ।
सम्भवतः आगामी दिनमा नेपाली बजारमा पनि लाइडर जडित एटो वान आउने छ ।

