काठमाडौं । नेपाली बजारमा कुनै समय निकै सफल मानिएका कारको बिक्री अहिले ठप्प छ । यहाँ बिक्री ठप्प भए पनि अधिकांश मोडल उत्पादन हुने देशमा सफल नै छन् ।
भारतमा उत्पादन र बिक्री वितरण हुँदै आएका धेरै मोडल अहिले नेपालमा आयात नै हुन छाडेका छन् । बढ्दो विद्युतीय कारको प्रयोगसँगै ती कार नेपाली बजारमा आउन छाडेका हुन् ।
मूल्यको हिसाबले पनि ईभीको तुलनामा निकै महँगो लाग्ने भएको कारण धेरैले साना पेट्रोल कार किन्न छाडेका छन् । त्यसकै मारमा परेर धेरै मोडलको आयात र बिक्री ठप्प भएको हो ।
सीजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको बलेनो प्रिमियम ह्याचब्याक सेग्मेन्टको कार हो । नेपाली उपभोक्ताले यसलाई खुबै मन पराए । तर, सन् २०२२ पछि यसको आयात रोकियो । अहिले पनि भारतमा निकै सफल मोडलमा पर्ने बलेनो नेपालको लागि भने इतिहास बन्यो ।
अल्टो ८०० भारतमै बन्द हुँदा नेपाल पनि आउन छाड्यो । नेपाली सडकमा ट्याक्सीको रूपमा छ्यापछ्याप्ती पाइने अल्टो अब इतिहास बन्ने दौडमा सामेल भएको छ ।

आयात बन्द भएको कारको सूचीमा मारुती सुजुकी कै इग्निस पनि समावेस छ । यसको पनि आयात पछिल्लो ५ वर्षदेखि छैन । अहिले पनि इग्निस भारतमा राम्रै संख्यामा बिक्री हुँदै आएको छ ।
इतिहास बन्ने बाटोमा गएको अर्को मोडल पनि मारुती सुजुकी कै हो । सुजुकी एसप्रेसो पनि विगत ३ वर्षदेखि आयात ठप्प भएको मोडलमा पर्छ ।
सानो ह्याचब्याक, आकर्षक मूल्य र निकै किफायती रनिङ कस्ट रहेको रेनो क्वीड नेपालमा निकै सफल ह्याचब्याक कार हो । अहिले पनि भारतमा राम्रो संख्यामा बिक्री भइरहेको रेनो क्वीड सफल मोडल हो । नेपालमा ईभीको बढ्दो क्रेजसँगै यसको बिक्री ठप्प भएको छ । यसलाई एड्भान्स अटोमोबाइल्सले नेपालमा आधिकारिक बिक्री गरेको थियो ।
रेनोको अर्को सफल मोडल काइगर पनि बन्द भइसकेको छ । कम्पनीले चार मिटरभन्दा केही छोटो एसयूभी पनि बिक्री बन्द गरेको हो ।
टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक कार पनि भारतमा राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो । नेपाली बजारमा सिप्रदी ट्रेडिङले यसको बिक्री थाले पनि राम्रो संख्यामा ग्राहक भने पाउन सकेन । पछिल्ला वर्षहरूमा यसको आयात ठप्प छ ।

हुन्डाईले औषत बिक्री गरेको इन्ट्री लेभल सेडान अउरा पनि पछिल्ला वर्षमा आयात भएको छैन । सेडान कारको गिर्दो बजार र ईभीको बढ्दो मागमा यो कार पनि पिल्सिएर बिक्री बन्द भएको छ । भारतमा भने अउराको माग र बिक्री दुवै राम्रो छ । हुन्डाईका उत्पादन लक्ष्मी इन्टरकन्टिनेन्टलले आधिकारिक बिक्रेताको रूपमा बजारमा उपलब्ध गराउँदै आएको छ ।
भारतमा राम्रो बिक्री भइरहेको अर्को सेडान होन्डा अमेज हो । नेपालमा स्याकार ट्रेडिङले बिक्री गर्दै आएको अमेज पनि आयात ठप्प भइसकेको छ । अब यो मोडल पनि बजारमा छैन ।
चांगानले सुरूमा नेपाल ल्याएको आल्सभिन सेडान पनि अब आयात बन्द भइसकेको मोडल हो । कम्पनीले यसलाई पुनः बजारमा ल्याउने सम्भावना छैन । यसलाई एमएडब्लू वृद्धिले नेपाल ल्याएको थियो । अहिले चांगानको न्यू इनर्जी ब्राण्ड दीपलका ईभी कम्पनीले बिक्री गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बन्द भएसँगै एमजी जेडएस पनि नेपालमा बन्द भयो । नेपाली सडकमा बाक्लो उपस्थिति रहेको जेडएस ईभीको सट्टा अहिले एमजी एस फाइभ किन्न सकिन्छ ।
साइमेक्स इंकले नेपाली सडकमा बलियो उपस्थिति बनाएको पहिलो मोडल नै बीवाइडी अल न्यू ई सिक्स हो । अहिले यसको सट्टा लगभग उस्तै लाग्ने एम सिक्स मोडल किन्न पाइन्छ । ई सिक्स भने सधैँका लागि बन्द भइसकेको छ ।

