काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीले टल ह्याच डिजाइनमा निर्माण गरेको पहिलो इलेक्ट्रीक केई कार ‘राको’को इन्टेरियर विवरण बाहिरिएको छ ।
कम्पनीले जापानी बजारलाई लक्षित गर्दै निर्माण गरेको राकोको इन्टेरियर सार्वजनिक गरेको हो । कम्पनीले यो कार सन् २०२६ को मध्यसम्म बिक्री सुरू गर्ने योजना बनाएको छ । यसको मूल्य करिब साढे १६ हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
राकोको इन्टेरियर सानो भए पनि निकै लोभलाग्दो देखिएको छ । अत्यन्तै व्यवस्थित र आधुनिक छ । यसमा फ्लोटिङ टचस्क्रीन र एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । त्यस्तै, कारको ड्यासबोर्डमा क्लाइमेट कन्ट्रोलका लागि भौतिक बटनहरू राखिएका छन् । जसले गाडी चलाउँदा सहजता प्रदान गर्दछ।
यसमा सेतो ‘लेदररेट’ले ढाकिएका आरामदायी सिटहरू छन् । साथै, १२ भोल्टको पोर्ट, यूएसबी र टाइप-सी चार्जिङ प्वाइन्टहरू उपलब्ध छन्। सेन्टर कन्सोलमा सामान राख्ने पर्याप्त ठाउँ, ग्लोभबक्स र चस्मा राख्ने विशेष ठाउँ, पावर विन्डो, साइड मिरर समायोजन गर्ने बटन छन् । अगाडिका सिटहरूमा हिटिङ सुविधा छ ।

बीवाइडीले राको ईभीमा आफ्नै सहायक कम्पनी फिनड्रिम्सले निर्माण गरेको एलएफपी ब्लेड ब्याट्री प्रयोग गरेको छ । यसमा २० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ। यो ईभीले एकपटकको फुलचार्जमा १८० किलोमिटरसम्म रेन्ज दिनेछ। यसले १०० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।
जापानमा केई कार धेरै लोकप्रिय छन्। गत वर्ष मात्रै करिब १६ लाखभन्दा बढी यस्ता साना कारहरू बिक्री भएका थिए । बीवाइडी राकोले मुख्य रूपमा होन्डा एनबक्स र निसान साकुरा जस्ता स्थापित मोडलहरूसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली बजारमा पनि बीवाइडीका गाडीहरू निकै लोकप्रिय छन् । राको ईभी सानो र सस्तो भएकाले नेपाली बजारमा पनि आउन सक्ने सम्भावना देखिन्छ ।

