काठमाडौं । चीनको न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले ईभीको लिडर टेस्लालाई प्योर ईभीकोे बिक्रीमा छिटै उछिन्ने देखिएको छ ।
विगत लामो समयदेखि ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) बिक्रीमा टेस्ला शीर्ष स्थानमा रहँदै आएको छ । तर, सन् २०२३ को तेस्रो क्वाटरसम्म आईपुग्दा बीवाइडीले टेस्लालाई कडा टक्कर दिएको छ भने यही रफ्तार कायम राखे चाँडै नै उछिन्ने देखिएको देखिन्छ ।
तेस्रो क्वाटरमा टेस्लाले ४ लाख ३५ हजार ५९ वटा ईभी बिक्री गरेको छ भने टेस्लालाई पछ्याउँदै बीवाइडीले ४ लाख ३१ हजार ६०३ वटा ईभी बिक्री गर्न सफल भएको छ । तेस्रो क्वाटरमा टेस्ला र बीवाइडी बीचको फरक मात्र ३ हजार ४५६ भेहिकल भएको छ ।
यो संख्यासँगै वर्षको अन्त्यसम्ममा बीवाइडीले टेस्लालाई बिक्री संख्यामा पछि पार्ने प्रक्षेपण गर्न थालिएको छ । बीवाइडीको बिक्री संख्यामा प्लगइन हाइब्रिड तथा कमर्सियल ईभीको बिक्री संख्या हटाइएको छ ।

तेस्रोमा धेरै ईभी बेच्ने ब्राण्ड फक्सवागेन ग्रुप रहेको छ । ग्रुपले तेस्रो वाटरमा २ लाख ९ हजार ३९४ वटा प्योर ईभी बिक्री गरेको छ ।
यो वर्षको ९ महिनामा कुल ईभी बिक्रीमा टेस्लाको १३ लाख २४ हजार ७४ वटा ईभी बिक्री भएको छ भने बीवाइडीको १० लाख ४८ हजार ४१३ यूनीट प्योर ईभी बिक्री भएको हो । त्यस्तै, तेस्रो स्थानमा रहेको फक्सवागेन ग्रुपले ५ लाख ३० हजार ४८५ वटा प्योर ईभी बिक्री गरेको छ ।

टेस्लाले अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बिक्री बढाएको छ भने बीवाइडीले ६७ प्रतिशतले धेरै ईभी बिक्री भएको छ । त्यस्तै फक्सवागेनको ४१ प्रतिशतले धेरै ईभी बिकेको छ ।
सन् २०२२ मा टेस्लाले १३ लाख, बीवाइडीले ९ लाख तथा फक्सवागेन ग्रुपले ५ लाख ७० हजार ईभी बिक्री गरेको थियो ।


