४० लाखभन्दा कम मूल्यका उत्कृष्ट ३ कार, यस्तो छ मासिक किस्ता

काठमाडौं । ईभी किन्ने कि पेट्रोल कार किन्ने भन्ने विषय अहिले खुबै पेचिलो बन्दै गएको छ । धेरैले आफ्नो दैनिक यात्रा गर्ने दुरी वा सडकको अवस्था हेरेर गाडी किन्नु पर्छ भन्छन् ।

कार छनोट गर्दा ईभी वा पेट्रोल कार जुन किनेपनि तपाईको आफ्नो यात्राको लागि उपयुक्त छनोट गर्नुभयो भने पछि आरामदायी यात्रा गर्न सकिन्छ । यदि तपाई ४० लाखभन्दा कम मूल्यमा पर्फेक्ट कार किन्ने योजनामा हुनुहुन्छ भने तपाईले बजारमा थुप्रै छनोट पाउन सक्नुहुन्छ ।

अहिले बजारमा सर्वाधिक चल्तीको ह्याचव्याक कार बीवाइडी डल्फीन हो । त्यसैगरी यही सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने हुन्डाई आई २० र सुजुकी फ्रङ्क्स पनि मूल्यको हिसावले ४० लाखभन्दा कम मूल्यमा पाउन सक्नु हुन्छ ।

बीवाइडी डल्फीन इलेक्ट्रीक कार हो । यसमा ४४.९ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । त्यसैगरी यसमा ७० किलोवाट (९५ पीएस) पावरको मोटर पाउन सकिन्छ ।

हुन्डाई आई २० प्रिमियम ह्याचव्याक सेग्मेन्टमा उपलब्ध कार हो । आफ्नो डिजाइन र पर्फमेन्सको कारण आई २० ले धेरैको मन जित्न सफल भएको छ । यसमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ । यसमा रहेको इन्जिनले अधिकतम ८३ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसले प्रतिलिटर १५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

सुजुकी फ्रङ्क्स क्रसओभर मोडल हो । यसलाई एसयूभी भनेर सम्बोधन गर्ने चलन छ । सुजुकीले ब्रेजाभन्दा कम मूल्यमा उपलब्ध गराएको फ्रङ्क्स मोडल आकर्षक फिचरको कारण धेरैले मनपराएका छन् । फ्रङ्क्स एसयूभीमा १.२ लिटर ड्यूलजेट, फोर सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८९ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्छ ।

मूल्य र मासिक किस्ता

यी तीन कारको मूल्य लगभग उस्तै छ । बीवाइडीले डल्फीन ह्याचव्याकको मूल्य ३९ लाख ८० हजार तोकेर बिक्री गर्दै आएको छ । डल्फीन इलेक्ट्रीक कार भएको कारण थोरै डाउन पेमेन्ट गरेर यसलाई ग्राहकले किन्न सक्छन् ।

यदि तपाईले मूल्यको २० प्रतिशत डाउन पेमेन्ट बुझाएर डल्फीन किन्ने योजनामा हुनुहुन्नछ भने सुरुमा डाउन पेमेन्ट वापत ७ लाख ९६ हजार रुपैयाँ भए पुग्छ । तर, थोरै रकम डाउन पेमेन्ट वापत तिरेर डल्फीन किन्दा किस्ता भने ७ वर्षसम्म मासिक ५४ हजार ५०० रुपैयाँ हाराहारी तिर्नुपर्छ ।

आई २० को मग्ना भेरियन्टको मूल्य ३९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसलाई किन्ने ग्राहकले अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट तिर्नुपर्छ । डाउन पेमेन्ट वापत नै १९ लाख ९८ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसपछि बाँकी रकम ७ वर्षसम्म मासिक ३४ हजार २१० रुपैयाँको दरले भुक्तानी गर्न सकिन्छ ।

फ्रङ्क्सको सिग्मा भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्ने ग्राहकले पनि ५० प्रतिशत डाउन पेमेन्ट तिर्नुपर्छ । डाउन पेमेन्ट वापत १९ लाख ९९ हजार ५०० रुपैयाँ तिर्नु पर्छ । त्यसपछि ७ वर्षसम्म मासिक ३४ हजार २३६ रुपैयाँ तिर्दा पुग्छ । तीन वटै गाडी किन्दा लाग्ने ब्याजदर भने हामीले ११ प्रतिशतमा हिसाब गरेका हौं ।


Back_to_top