चालु वर्षमा भित्रिए ८ हजार बढी कार, पेट्रोल कार आयात ५६% बढ्यो

फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन-पुस)सम्म ८ हजार युनिट बढी कार आयात भएको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म कुल ८ हजार २७२ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।

गत आवको ६ महिनाको तुलनामा चालु आवमा समग्र कार आयात ९.८२ प्रतिशत अर्थात् ७४० युनिटले वृद्धि भएको छ । गत वर्ष पुससम्म कुल ७ हजार ५३२ युनिट कार आयात भएको थियो ।

चालु आवमा कुल १५ अर्ब २ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले १४ अर्ब ७ करोड रुपैयाँ राजस्व पाएको छ ।

ईभी आयात घट्यो

चालु आवमा समग्रमा कार आयात बढ्दा विद्युतीय कार आयातमा भने ७.४२ प्रतिशत गिरावट आएको छ । गत वर्ष ६ महिनामा ५ हजार ४८० युनिट ईभी कार आयात भएकोमा चालु वर्ष ५ हजार ७३ युनिटमा सीमित भएको छ ।

चालु आवमा कुल १२ अर्ब ६ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले ७ अर्ब ४५ करोड रुपैयाँ राजस्व पाएको छ ।

चालु आवको बजेट अघि कर बढ्ने हल्लाले व्यवसायीले झण्डै ६ हजार ईभी आयात गरेको थिए । ती कार अझै बिक्री भइनसकेकाले आयातमा प्रभाव परेको हो ।

चालु आवमा ५० किलोवाटसम्मका १५८५ युनिट, ५१ देखि १०० किलोवाटसम्मका ३०१७, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४६३ र २०१ किलोवाट माटिथका ६ युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।

पेट्रोल कार आयातमा उछाल

चालु वर्षमा ईभी कार आयात घटे पनि पेट्रोल कार आयातमा उछाल आएको छ । ६ महिनाको अवधिमा ३ हजार १९९ युनिट पेट्रोल कार आयात भएको छ ।

यो गत वर्ष सोही अवधिको तुलनामा ५५.९ प्रतिशत अर्थात् ११४७ युनिट धेरै हो । गत वर्ष पुससम्म कुल २ हजार ५२ युनिट पेट्रोल कार आयात भएको थियो ।

पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ६ महिनामा कुल ३१९९ युनिट इन्धन कार आयात हुँदा १५८३ युनिट अन एसेम्बल कार रहेको विभागको तथ्यांक छ । कुल पेट्रोल कार आयातमा हुन्डाईको हिस्सा ४९.४८ प्रतिशत रहेको छ ।

नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।


Back_to_top