काठमाडौं । सन् २०२५ मा टोयोटाले र्याभफोर एसयूभी अमेरिकी बजारमा मात्रै ४ लाख ८० हजार हाराहारी बिक्री गर्यो । रेगुलर इन्जिन र हाइब्रिड इन्जिनमा उपलब्ध र्याभफोर विश्वभर राम्रो संख्यामा बिक्री भएको मोडल हो ।
नेपाली बजारमा पनि र्याभफोरको आफ्नै क्रेज छ । अझ, टोयोटाको ब्राण्ड नेम र विश्वसनियताको आसपासमा अन्य ब्राण्ड पुग्न सकेका छैनन् । तर, नेपालमा हाइब्रिड र्याभफोर किन्न २ करोड ७ लाख रुपैयाँ चाहिन्छ । जुन धेरै नेपालीको खरिद क्षमता भित्र पर्दैन । त्यसैले पनि टोयोटालाई नेपालमा विश्वसनियसँगै प्रिमियम ब्राण्ड बनाएको हो ।
विश्वभर र्याभफोर एसयूभीको माग उच्च हुनुमा धेरै कारण छन् । त्यसमध्ये केही कारणका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
सबैभन्दा पहिला उत्कृष्ट फ्युल इकोनोमीको कुरा आउँछ । टोयोटाले र्याभफोर हाइब्रिडले फुल ट्याङ्की पेट्रोलबाट १ हजार किलोमिटर माइलेज पाइने दाबी गर्छ । जुन आफैँमा ठूलो हो । अझ महँगो इन्धन मूल्य तिर्नु पर्ने नेपाल जस्तो देशको लागि यो निकै फाइदाजनक मानिन्छ ।
अलह्वील ड्राइभ र्याभफोरको अर्को बलियो विशेषता हो । हिमाली, पहाडी र तराईका सबैखाले भूभागमा यसलाई चलाउन सकिन्छ । त्यसैले पनि यसको माग एउटा वर्गमा धेरै हुनेगर्छ । अमेरिकी र युरोपियन बाटोमा हिउँ र चिप्लोमा पनि चलाउन सजिलो हुने भएको कारण यसलाई धेरैले मनपराएका हुन् ।

निकै स्मुथ ड्राइभिङ पाइने र्याभफोरमा २.५ लिटर, फोर सिलिण्डर, इन-लाइन टाइप, १६ भल्भ डीओएचसी भीभीटी-आईई इन्जिन दिएको छ । जसले ५७०० आरपीएममा १७८ बीएचपी पावर प्रदान गर्छ । साथै, यसमा ८८ किलोवाट (११८ बीएचपी) को इलेक्ट्रीक मोटर छ । दुवैको संयुक्त पावर २९६ बीएचपी हुन्छ । यसको संयुक्त टर्क भने ४०२ न्युटन मिटर हुन्छ ।
सुरक्षा फिचरमा पनि र्याभफोर हाइब्रिड निकै अब्बल मानिन्छ । विश्वका सबै एनक्याप (परीक्षण भएका जति) मा ५ स्टार क्र्यास टेष्ट रेटिङ पाएको छ । यसमा टोयोटा सेफ्टी सेन्स उपलब्ध छ । यस भित्रै थुप्रै सुरक्षा फिचर पाउन सकिन्छ ।
टोयोटाको विश्वसनियता र गाडीको लामो आयु भएकै कारण पनि धेरै मानिसले र्याभफोर मन पराउँछन् । राम्रो रिसेल मूल्य र पार्ट्सहरूको आयु पनि धेरै भएको कारण मानिसले यसलाई मनपराएका हुन् ।


